वासिङ्टन– इसाई धर्माबलम्बीहरुको महान पर्व क्रिसमस मनाउन अमेरिकी सांसदहरु घरतर्फ लागेका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले पेस गरेको बजेट पारित नभएपछि विवाद चर्किरहेका बेला सांसदहरु बिदामा गएका हुन्।
अमेरिकी संसद् र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मेक्सिको सिमानामा पर्खाल निर्माणका लागि बजेटमा देखिएको गतिरोध समाधान नभएपछि अमेरिकाका केही सरकारी कार्यालय तीन दिनदेखि बन्द छन्।
बजेटमा रहेको असहमति अन्त्य गर्न अमेरिकी सिनेटरहरूबीच भएको छलफल निष्कर्षविहीन भएपछि सरकारी काम आंशिक रुपमा प्रभावित भएको हो।
सोमबार तेस्रो दिन पनि कर्मचारीले तलब नपाइकनै कार्यालय बन्द भएको अधिकारीहरुले जनाएका छन्।
संघीय सरकारअन्तर्गतका झन्डै ४ लाख कर्मचारीहरु यसबाट मर्कामा परेको बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी कामकाज सञ्चालनका लागि विभिन्न कार्यालयलाई दिइने कोषबाट सीमा क्षेत्रमा बनाउने भनिएको पर्खालका लागि छुट्याइनु पर्नेमा जोड दिएपछि मत समस्या उत्पन्न भएको हो।
ट्रम्पले चुनावी अभियानका बेला मेक्सिकोसँगको सीमा क्षेत्रमा गैरकानुनी रुपमा आप्रवासीको प्रवेश रोक्नका लागि पर्खाल बनाउने प्रतिबद्धता गरेका थिए। तर, सो काम अहिलेसम्म सुरु हुन सकेको छैन।
ट्रम्पले आफ्नो चुनावी वाचा पूरा गर्नका लागि सरकारी खर्चको कोषबाट रकम जुटाउन खोजेका हुन्। ट्रम्पले पर्खालका लागि ५ अर्ब ७० करोड अमेरिकी डलर छुट्याउनु पर्ने बताउँदै आएका छन्। तर, यसमा सिनेट तथा हाउसका सदस्य सन्तुष्ट छैनन्।
नयाँ सहमति नभएसम्म अमेरिकी सरकारका एक चौथाई सङ्घीय कार्यालयको दैनिक कार्य सञ्चालनका लागि चाहिने रकम अभाव भएको छ।
यसका कारण डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी, यातायात, कृषि, विदेश र न्याय विभागअन्तर्गतका कार्यालयको काम बन्द भएको छ।
खर्च अभावमा राष्ट्रिय निकुञ्ज तथा जङ्गलसँग सम्बन्धित कार्यालयका काम पनि रोकिएको बताइएको छ।
सन् २०१८ मा सरकारी कार्यालयमा बजेट अभावका कारण आंशिक रुपमा काम रोकिएको घटना यो पहिलो भने होइन। यसै वर्षमा अमेरिकी सरकारी कार्यालयमा कामकाज ठप्प भएको यो तेस्रो पटक हो। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।