कोक्स– बङ्लादेशमा रहेका रोहिङ्ग्या शरणार्थी बसेका शिविरहरुलाई निर्वाचनका बेलामा बन्द गरिने भएको छ।
देशभरका शिविरमा रहेका झन्डै १० लाख रोहिङ्ग्या मुस्लिमहरुलाई आउँदो तीन दिन शिविर बाहिर निस्कन नदिने व्यवस्था गर्न लागिएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन्।
विषेशगरी दक्षिणपूर्वी सीमा क्षेत्रका जिल्लाहरुमा रोहिङ्ग्या शरणार्थीहरु बस्दै आएका छन्। उनीहरुलाई शरण दिएकाले प्रधानमन्त्री शेख हसिनाले अन्तर्राष्ट्रिय पुरस्कार पनि प्राप्त गरेकी छिन्।
म्यानमारको सरकारी सेनाले लखेटेपछि रोहिङ्ग्या समुदायका लाखौ मानिस शरणका लागि छिमेकी मुलुक बंगलादेश छिर्न बाध्य भएका हुन्।
निर्वाचन आयोगले सवै अधिकारीहरुलाई कोक्स बजारबाट शरणार्थीहरूलाई निर्वाचन अवधिभरी नियन्त्रणमा राख्न आह्वान गरेको छ।
‘सुरक्षाको कारणले यस्तो गर्नु परेको हो, गैरसरकारी संस्थाका कार्यकर्ताहरुलाई पनि बन्देज गरिएको छ, आपतकालीन अवस्था बाहेक अन्य अवस्थामा उनीहरुलाई पनि शिविरमा आवतजावत गर्न नपाइने गराइएको छ,’ उनले भने।
यही डिसेम्बर ३० मा हुने संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको दल र उनकी प्रतिद्वन्द्वी खालिदा जियाको दलका बीचमा प्रतिश्पर्धा हुन लागेको छ। जिया भने ढाकाको जेलमा बन्दी छिन्।
हसिना आगामी निर्वाचनबाट चौथो पटक प्रधानमन्त्री हुने तयारीमा छिन्। चुनावी मतसर्वेक्षणमा उनको पक्षमा पहिलेझैं मत प्राप्त नहुने देखाएको छ। सरकारले विपक्षीमाथि तानाशाही प्रवृत्ति देखाएको आरोप पनि उनीमाथि छ।
विपक्षी दलकी अध्यक्ष जिया भ्रष्टाचारको आरोपमा १७ वर्षको जेलजीवन बिताइरहेकी छिन्। उनको दल बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी)ले उक्त आरोप ‘राजनीतिक प्रेरित’ रहेको भन्दै आलोचना गर्दै आएको छ।
बंगलादेशी कानुन बमोजिम जियाले चुनाव लड्न पाउने छैनन्। बिएनपीले चुनाव स्वच्छ र पारदर्शी रुपमा हुन नसक्ने दाबी गरेको छ। हालैका महिनामा पार्टीसम्बद्ध हजारौं कार्यकर्तालाई पक्राउ गरिएको बिएनपीले जनाएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।