काठमाडौं- नेपाली कांग्रेसको महासमिति बैठकमा नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीलाई बोल्नबाट वञ्चित गरिएको छ।
शनिबार महासमिति बैठकमा विधान पेश भएसँगै जिल्ला सभापतिहरुलाई बोल्न समय छुट्याइएको थियो। शनिबार र आइतबार विधानबारे आफ्नो धारणा राख्न पटक-पटक समय माग्दा पनि बोल्न नदिइएको केसीले बताए। उनले भने, 'बोल्न नाम टिपाएका अरु सभापतिलाई बोल्न दिइयो, मैले पाइन।'
बैठकमा विधान पेस नभएको भन्दै नाराबाजी हुने क्रममा चार दिनअघि केसी र सह-महामन्त्री डा प्रकाशशरण महतसँग भनाभन भएको थियो। पार्टी सभापतिकै निर्देशनमा केसीलाई बोल्न नदिएको बताइएको छ।
संस्थापन इतर समूहमा रहेका केसीले सभापति शेरबहादुर देउवाको अनुमति नलिई तीन साताअघि जिल्ला सभापतिहरूको भेला गराएका थिए। देउवाको रुचि विपरीत जिल्ला सभापतिहरुको भेला भएपछि देउवा उनीसँग सन्तुष्ट थिएनन्।
पार्टीभित्रको लोकतन्त्रका लागि लड्दै आएको बताउँदै केसीले पार्टीमा आन्तरिक लोकतन्त्र नभएको बताए।
महाधिवेशन प्रतिनिधिमा केन्द्रीय नेताहरु स्वतः स्थान पाउन नहुने पक्षमा अधिकांश जिल्ला सभापतिहरू थिए।
वडा/क्षेत्र बाट निर्वाचित भई महाधिवेशन प्रतिनिधि बन्नुपर्ने जिल्ला सभापतिहरूको सुझावले विधानमा स्थान पाएन। उक्त प्रावधानका लागि जिल्ला सभापतिहरुले हस्ताक्षर अभियान चलाएका थिए।
यस्तो थियो केसी र महतबीचको विवाद [भिडियो]
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।