काठमाडाैं– प्रतिनिधिसभाका सांसदहरुले पशुपतिनाथस्थित वृद्धाश्रमको उचित व्यवस्था गर्न नसकेकाे भन्दै सरकारको आलोचना गरेका छन्।
संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिको आइतबारको बैठकमा बोल्दै सांसद कृष्णबहादुर राई र हिरा गुरुङले वर्षौंदेखि जीर्ण अवस्थामा रहेको पशुपति वृद्धाश्रमको उचित व्यवस्था गर्न नसकेको उल्लेख गर्दै सरकारको आलोचना गरेका हुन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद राईले पशुपतिनाथबाट सो वृद्धाश्रम तत्काल अन्यत्र सार्न पनि सरकारसँग माग गरे।
उनले नयाँ ठाउँमा नयाँ भवन बनाएर वृद्धाहरुको उचित स्याहार गर्न पनि सरकारको ध्यानाकर्षण गराए।
समितिकी अर्की सदस्य एवम् कांग्रेस सांसद गुरुङले पशुपति वृद्धाश्रमका वृद्धाहरुको उचित खानपानको समेत व्यवस्था हुन नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरिन्।
उनले 'चिसोमा न्यानो कपडाको वितरण वृद्धाश्रमका गरिएको छ कि छैन?' भनि सरकारलाई प्रश्न पनि गरिन्। सरकारले जीर्ण अवस्थामा रहेको पशुपति वृद्धाश्रम हालसम्म पनि मर्मतसंहार नगरेकोमा सांसद गुरुङको आपत्ति छ।
बैठकमा पशुपति वृद्धाश्रमका कार्यालय प्रमुख मनोजकुमार बस्नेतले वृद्धाश्रमका वृद्धवृद्धाहरुको खानापान, स्वास्थ्य उपचारलगायतको उचित व्यवस्था गरिएको दाबी गरे। उनले वृद्धाश्रममा नियमित स्वास्थ्य जाँचको समेत व्यवस्था भइरहेको पनि समितिलाई जानकारी गराए।
सो वृद्धाश्रमको जीर्ण भवनसमेत हालसम्म मर्मत हुन नसकेपछि महिला तथा सामाजिक समितिमा आवद्ध सांसदहरु सरकारप्रति आक्रोशित भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।