काठमाडौं- एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिताको व्यवस्थापनप्रति राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले असन्तुष्टि प्रकट गरेका छन्। इपिएलल टिम विराटनगर वारियर्सका कप्तान समेत रहेका खड्काले पुरस्कार राशी र व्यवस्थापन पक्ष राम्रो नभएको भन्दै दु:ख समेत ब्यक्त गरेका छन्।
शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको फाइनलमा ललितपुर प्याट्रिओट्सले भैरहवा ग्लाडिएटर्सलाई १४ रनले हराउँदै उपाधि जितेको थियो।
पुरस्कार वितरण समारोह सकिए लगत्तै कप्तान खड्काले इपिएलको प्रेस बक्समा आएर आफ्नो असन्तुष्टि प्रकट गरेका थिए।
खड्काको असन्तुष्टि उनकै शब्दमा :
क्रिकेटको कुरा गर्ने हो भने धेरैले खेल्ने अवसर पाए। अझ राम्रा खेलाडीले प्रतियोगिता खेले। अन्तर्राष्ट्रिय स्तरका नाम चलेका खेलाडी पनि इपिएलमा आएर खेले। टिम फ्रेन्चाइचहरु धन्यवादको पात्र छन्।
व्यवस्थापनको कुरा गर्ने हो भने यो भन्दा राम्रो हुन सक्थ्यो। सुरुमा 'द बिगेस्ट' भनिएको थियो।
उपाधि विजेतालाई दिइने पुरस्कार धेरै भइदिएको भए हुन्थ्यो। खेलाडीमा पनि प्लेयर अफ दि सिरिजले मात्र बाइक पाउनु भयो। खेलाडीहरुका लागि अलिकति बढी केहि हुन सक्थ्यो भन्ने हो।
पछिल्लो वर्ष अक्सनबाट खेलाडीको मूल्य तोकिएको थियो। अहिले वर्ष १० प्रतिशत बढाएर खेलाडीले पाउने भन्ने थियो।
खेलाडीहरुलाई पहिलो प्राथमिकता दिनु पर्थ्यो। त्यो हुन सकेन। समग्र हेर्नु पर्दा धेरै दुख लागेको छ। खेलाडीका लागि राम्रो पुरस्कार हुन नसकोमा दुख लागेको हो।
विजेतालाई २५ लाख रुपैयाँ मात्र दिनु यो स्तरको प्रतियोगिताका लागि कम हो। यो कुराको आयोजकले उत्तर दिन सक्नु पर्छ।
तर पनि हामीले नेपाल क्रिकेट संघ नभएको अवस्थामा यस्तो ठूलो प्रतियोगिता गर्दा राम्रो मान्नु पर्छ।
अर्कोतर्फ पारसले पोखरा प्रिमियर लिग आयोजना गरेपछि इपिएल बिगार्न खोजेको भन्ने पनि आरोप लागेको छ। यस्तो सुन्दा मलाई साह्रै दुख लागेको छ। हामीले त्यस्तो कहिल्यै पनि सोचेका थिएनौं। इपिएललाई बिगारे पिपिएल र डिपिएललाई फाइदा पुर्याउनु छैन। यो क्रिकेटको लागि हो। प्रतियोगिता राम्रो भएकोमा कुनै शंका छैन तर व्यस्थापनमा मेरो प्रश्न हो।
यी सबै कुरा क्रिकेट संघ नभएर हो। हामीले भर्खर सुनेका छौं यूएइका केहि खेलाडी ट्विटरमा कमेन्ट गरेकाले निलम्बनमा परेका छन्।
तर यो नीजि लिग हो। नीजि लिगले खेलाडीलाई निलम्बन गर्न सक्दैन केहि म्याच फि जरिबान गर्न सक्छ। आगामी दिनमा क्रिकेट संघ आएमा व्यस्थापन पक्षदेखि खेलाडीले नियमबिपरित काम गरेमा कारबाही गर्न सक्छ। आसा छ आगामी ४-५ महिनामा विवाद सुल्झिन्छ। क्रिकेट संघ आएपछि खेलाडी, प्रशिक्षक, अम्पायर र व्यस्थापनप्रति कडा भएर प्रस्तुत हुनु पर्नेछ।
क्रिकेट संघ आएमा नेपाल प्रिमियर लिग पनि हुन सक्छ। इपिएल, पिपिएल र डिपएल पनि हुन्छन्। सबै लिगबाट क्यानमा पैसा जान्छ। जुन नेपाली क्रिकेट विकास लागि प्रयोग हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।