काठमाडौं- पोलिमर नोट काण्डमा पूर्वगभर्नर सहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वगभर्नर तिलक रावलसहित राष्ट्र बैंकका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौडेल र पोलिमर नोट प्रिन्टको जिम्मेवारी पाएको एजेन्टको स्थानीय प्रतिनिधि मे फ्लावर लिमिटेडका हिमालयबहादुर पाँडेविरुद्ध कुल २ करोड ७३ लाख रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनीहरूविरुद्ध जनही ९१ लाख ९ हजार रुपैयाँ बिगो कायम गरिएको छ।
नेपाल राष्ट्र बैंकले अष्ट्रेलियामा १० रुपैयाँ दरको ५ करोड थान पोलिमर नोट छपाई गर्दा अष्ट्रेलियाका स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको, नोट प्रिन्टिङमा मिलेमतो गरी गैरकानुनी रुपमा नोट छपाइ गरेको आरोप लागेको थियो। अख्तियारले केही समय अघिदेखि यस विषयमा छानबिन थालेको थियो।
उक्त मुद्दामा बोलपत्र पूर्व नै राष्ट्र बैंकले नोट प्रिन्टिङका लागि अष्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिने, संचालक समितिका निर्णय चुहाउने, जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अष्ट्रेलियालाई हस्तान्तरण गर्न लगाउने, नेपाल राष्ट्र बैंक र नोट प्रिन्टिङ अष्ट्रेलिया तथा त्यसका स्थानीय प्रतिनिधीबीचका निरन्तर पत्राचार हुने लगायतका गलत गतिविधि भएको अख्तियारद्धारा दायर आरोपपत्रमा उल्लेख छ।
त्यस्तै, छापिएका नोटका कमीकमजोरी मिडियामा नल्याउनका लागि सञ्चारकर्मीसमेतलाई थाइल्याण्ड हुदै अष्ट्रेलिया पठाउने, नोट छपाईका कार्यादेश दिएकालाई नै बोलपत्र पूर्व नै नोटको डिजाईन गर्न लगाउने, बोलपत्रका क्रममा स्थानीय प्रतिनिधिको प्रभावमा राजस्व छल्ने नियतले कमिसन उल्लेख नगर्नेजस्ता गलत गतिविधि भएको पनि आरोपत्रमा उल्लेख छ।
परल मूल्य प्रति हजार ६८ अष्ट्रेलियन डलरबाट ४ अष्ट्रेलियन डलर बढाउन लगाई सोही बमोजिम बोलपत्र र सम्झौता गरी नेपाल राष्ट्र बैंकका नोट प्रिन्टिङमा अष्ट्रेलियाका पदाधिकारीहरु र त्यसका स्थानीय प्रतिनिधिले नेपाल राष्ट्र बैंकलाई अस्वभाविक मूल्य तिराई नोक्सानी पुर्याएको विशेष अदालतमा दायर भएको आरोपत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।