दक्षिण कोरिया– दक्षिण कोरियामा ३८ प्रतिशत आप्रवासी श्रमिकले अहिले पनि मासिक २० लाख कोरियन वन भन्दा कम पारिश्रमिक पाउने गरेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ।
कोरियामा कार्यरत ८ लाख ४६ हजार विदेशी श्रमिकमध्ये ३८ प्रतिशत श्रमिकलाई यहाँका रोजगारदाताले मासिक २० लाख वन भन्दा कम पारिश्रमिक दिने गरेका छन्।
२० लाख वनभन्दा कम पारिश्रमिक पाउनेको संख्या गत वर्ष ४२ दशमलव ७ प्रतिशत रहेकोमा यो वर्ष करिब ५ प्रतिशतले घटेको हो। यो रकम देशको औषत आयभन्दा १० लाख वन कम हो। यो वर्ष कोरियाको मासिक प्रतिव्यक्ति आय ३० लाख वन भन्दा बढी छ।
बुधबार कोरियाको न्याय मन्त्रालय र तथ्याङ्क कोरियाले संयुक्त रुपमा प्रकाशित गरेको रिर्पोटअनुसार ३९ दशमलव ५ प्रतिशत कामदारले दैनिक ज्यालादारीमा काम गरिरहेका छन्। यो अनुपात गत वर्ष भन्दा १४ प्रतिशतले बढी हो।
रिपोर्टमा भनिएको छ, ‘२१ प्रतिशत विदेशी श्रमिक कम्तिमा वर्षको एकपटक कुनै न कुनै किसिमको विभेदमा पर्ने गरेपनि १४ प्रतिशतले मात्र बाहिर बोल्ने गरेका छन्। किनकी विभेद सहने उनीहरुलाई बानी परिसकेको हुन्छ।’
सर्वेक्षणका क्रममा आप्रवासी कामदार र कोरियाली कामदारबीच विभेद हुनुमा धेरैले सरकारी नीतिलाई प्रमुख कारण मानेका थिए। त्यस्तो मत राख्ने कामदार ६० दशमलव ९ प्रतिशत रहेको बताइएको छ। सर्वेक्षणमा कोरियाली सिप तथा क्षमताको अनुशरण गर्नुपर्दा भन्नेहरु २५ दशमलव ७ प्रतिशत, छालाको रङका कारण भन्नेहरु ६ दशमलव ६ प्रतिशत र पेसा भन्नेमा २ दशमलव ६ प्रतिशत रहेको तथ्यांक छ।
गत मे १५ सम्ममा कोरियामा लामो समयसम्म बस्ने १५ वर्ष भन्दा माथिका आप्रवासीको संख्या १० लाख भन्दा बढी छ। यो संख्या गत वर्षभन्दा ६ दशमलव २ प्रतिशतले बढी हो। कोरियामा ९० दिन भन्दा बढी बस्नेलाई लामो समय बस्नेअन्तर्गत राखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।