काठमाडौं- सरकारले गत जेठ २ गतेअघि कलिङ भिसा लागेर सबै प्रक्रिया पूरा गरेर पनि मलेसिया जान रोकिएका कामदारलाई सिधै राजदूतावासमार्फत् पठाउने तयारी गरेको छ।
कलिङ भिसा लागेर मलेसिया जानबाट बञ्चित कामदार पठाउने विषयमा परराष्ट्र मन्त्रालयसमेतको समन्वयमा मलेसियासँग छलफल भइरहेको श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले जानकारी दिएको छ।
कलिङ भिसा लागेका नेपाली कामदारलाई नेपालस्थित मलेसिया दूतावाससँग समन्वय गरेर सिधै मलेसिया पठाउने विषयमा छलफल भइरहेको छ। यो विषयमा मलेसिया सरकारपनि सकारात्मक रहेको श्रम मन्त्रालय स्रोतको दाबी छ।
कलिङ भिसा लागेका कामदारले पुनः स्वास्थ्य परीक्षण गरी मलेसिया जान पाउने बताइएको छ। अब पुनः स्वास्थ्य परीक्षण गरी उनीहरूका लागि मलेसिया जाने बाटो खुल्न लागेको हो।
बायोमेट्रिक, भिएलएन, जीएसजी, वान स्टप सेन्टर र माइग्राम्सले मलेसिया जाने कामदारलाई गैरकानूनी रूपमा ठगी गरेको भन्दै सरकारले जेठ २ गते बन्द गरेपछि करिब साढे ९ हजार नेपाली भिसा लागेर पनि मलेसिया जान पाएका छैनन्। विगत ८ महिनादेखि मलेसियाको रोजगारी बन्द छ।
कलिङ भिसा लागेका कामदारलाई पुरानो संयन्त्रमार्फत् मलेसिया पठाउन नेपाल तयार नभएपछि अर्को विकल्प खोजिएको मन्त्रालयका अधिकारीले बताए।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले ठगी गरेको भन्दै बायोमेट्रिक, भीएलएन, वान स्टेप सेन्टर, जीएसजी तथा माईग्राम्सलाई खारेज गरेको थियो। ती संस्थामाथि ५ अर्ब ठगी गरेको आरोप लागेको छ।
सरकारले गत कात्तिक १२ गते मलेसियासँग श्रम सम्झौता गरेको छ। मलेसियाको रोजगारी बन्द भएपछि मलेसियाका श्रम मन्त्री एम कुलासेगरान श्रम सम्झौताका लागि काठमाडौं आएका थिए। रोजगारदाता कम्पनीले कामदार जाँदा लाग्ने सम्पूर्ण खर्च ब्यहोर्ने सहमति भइसकेको छ।
समझदारी भएको करिब साढे २ महिना हुन लाग्दा पनि मलेसियाको रोजगारी कहिले खुल्ने निश्चित भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।