राजविराज- भूमिसुधार तथा मालपोत कार्यालयको बेवास्ताका कारण सप्तरीका जग्गासम्बन्धी महत्वपूर्ण अभिलेख नष्ट हुने अवस्थामा पुगेको छ।
मालपोत कार्यालयको तामेली शाखाअन्तर्गतका लाखौंको संख्यामा रहेका फाइल संरक्षण हुन नसक्दा च्यातिन र कुहिन थालेका छन्। भण्डारण व्यवस्थापन हुन नसक्दा पटक-पटक फाइल सार्नु परेको र फाइल हराउने तथा नष्ट हुने गरेको कार्यालय सहयोगी सोमन यादवले बताए।
तामेलीका शाखाका अधिकांश काम हेर्दै आएका यादवले कार्यालयमा वि.स. २००४ सालदेखिका करिब ५ लाख भन्दा बढी फाइल रहेको जानकारी दिए।
भूमि सुधार तथा व्यवस्थापन विभागको २०६७ जेठ ३१ गतेको निर्णयअनुसार तामेली भण्डारण गरिएको भवनसहितको २ कठ्ठा १ धुर जग्गा जिल्ला अदालतलाई हस्तान्तरण गरिएपछि श्रेस्ता भण्डारणमा समस्या सुरु भएको हो।
घर र जग्गाबापत जिल्ला अदालतले तामेली भण्डारणस्थल निर्माणका लागि मालपोत कार्यालयलाई ४० लाख रुपैयाँ उपलब्ध गराएको थियो।
सोही रकमबाट मालपोत कार्यालयको तेस्रो तल्लामा तामेली भण्डारणस्थल निर्माणको काम सुरु भएपनि हालसम्म काम पूरा नहुँदा श्रेस्ता जोगाउन समस्या परेको कर्मचारीहरूको भनाइ छ।
नयाँ भण्डारणस्थल तयार नभएपछि गत बैशाखदेखि तामेलीका सम्पूर्ण श्रेस्ता अफिसर्स क्लबको घर भाडामा लिएर राखिएको छ।
अस्तव्यस्त रहेका फाइल खोज्दासमेत नभेटिएपछि सर्वसाधारणले दुःख पाउने गरेका छन्। ‘हप्तौं धाइसकें, तर कर्मचारीले फाइल खोजेर दिँदैनन्,’ सेवाग्राही कालिनदेवी चौधरी भन्छिन्, ‘आज भन्दै भोलि भन्दै दुःख दिने काम मात्रै भइरहेको छ।’
मालपोत कार्यालयकै तेस्रो तलामा निर्माणाधीन ११ कोठे तामेली भण्डारणस्थल निर्माणको काम रोकिएको छ। राजविराजस्थित गहिल सन्स कम्पनी लिमिटेडले कुल २८ लाख ८८ हजार ७ सय ७० रुपैयाँमा भवन निर्माणको ठेक्का लिएको थियो। सम्झौताअनुसार २०७१ भदौ १९ मै भवन निर्माणको काम सम्पन्न गर्नुपर्ने थियो। तर, हालसम्म निर्माणको काम अधुरो छ।
काम सम्पन्न गर्न कार्यालयका तर्फबाट पटक-पटक म्याद थप गर्दासमेत निर्माण कम्पनीले बेवास्ता गरेको जिल्ला मालपोत कार्यालयका प्रमुख सिकिन्द्र साहले बताए। सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले गरेको मूल्यांकन अनुसार २०७३ फागनु ५ सम्म ७० दशमलव ८१ प्रतिशत मात्रै काम सम्पन्न भएको थियो।
बाँकी काम सम्पन्न गर्न ठेकेदार कम्पनीले दुई पटक म्याद थपिएको थियो। तर थपिएको समयमा पनि निर्माणको काम भएको छैन। ‘काम रोकिएको विषयमा कार्यालयका तर्फबाट धेरै पटक चासो गरियो,’ साहले भने, ‘यस विषयमा विभागमार्फत् नै अघि बढ्ने तयारीमा छौँ।’
भवन अधुरै राखेको ठेकेदार कम्पनीले २०७३ जेठ २७ गते फाइल बिल भर्पाइ पेस गरी भुक्तानी माग गरेको थियो। कार्यालयका अनुसार सम्झौतामा कबोल गरेको भन्दा ५ लाख कमको बिल भर्पाइ पेस गरिसकिएको छ।
‘पटक-पटक रकम निकासा भएको देखिन्छ, तर कति रकम भुक्तानी भएको हो यकिन तथ्यांक छैन,’ कार्यालय प्रमुख साह भन्छन्, ‘अन्तिम भुक्तानी भएको छैन, म पनि हिसाब हेर्दैछु।’
ठेकेदारको लापबाही
अर्कोतर्फ निर्माण सम्पन्न नहुँदै भवनको टिनको छाना चुहिन थालेको छ भने भित्ताहरू भत्किन थालेका छन्। ‘काम एकदमै गुणस्तरहीन भएको छ,’ कर्मचारीहरू भन्छन्, ‘यही अवस्थामा भवन जिम्मा लिए काम लाग्ने अवस्थामा छैन।’
कर्मचारीहरूका अनुसार कामको गुणस्तरका विषयमा प्रश्न उठेपछि भूमि सुधार तथा व्यवस्थापन विभागले पनि अनुगमन गरेको थियो। २०७३ सालमा गरिएको अनुगमनमा भवन गुणस्तरहीन र तामेली भण्डारणका लागि उपयुक्त नभएको प्रतिवेदन बुझाइएको छ।
स्थानीय बुद्धिजीविहरूले लाखौं सर्वसाधारणको सम्पत्तिको रूपमा रहेको तामेली र लिखत संरक्षणका लागि कार्यालयले तत्कालै पहल गर्नुपर्ने माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।