काबुल– अफगानिस्तानमा युद्धरत तालिबानसँग शान्तिवार्ता गर्न अफगान शान्ति मध्यस्थकर्ता टोली युएईको अबुधाबी पुगेको एक सरकारी अधिकारीले बताएका छन्।
करिब १७ वर्षदेखि जारी सशस्त्र द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि अमेरिकी र तालिबान प्रतिनिधिहरूबीच सोमबार पनि वार्ता भएको छ।
'प्रमुख मध्यस्थकर्ता अब्दुल सलाम राहिमीको नेतृत्वमा रहेको टोली तालिबानसँग वार्ता गर्न अबुधाबी आइपुगेको र दुई पक्षबीच धेरै समयपछि आमनेसामने वार्ता हुन लागेको हो,' अफगान राष्ट्रपति कार्यालयका प्रवक्ता हारुन चाखानसुरीले ट्वीट मार्फत बताए।
राष्ट्रपति अश्रफ घानीले गत नोभेम्बरमा वार्ताका लागि राहिमीको नेतृत्वमा १२ सदस्यीय वार्ता टोली घोषणा गरेका थिए।
तर, तालिबान समूहले भने वार्ताका बारेमा अझै टुङ्गो नलागेको बताएको छ। उनीहरुले अफगानी अधिकारीसँग वार्ता नगर्ने विगतकै अडान दोहोर्याएका छन्।
तालिबान समूहले मंगलबार जारी गरेको वक्तव्यमा आफूहरूले अमेरिकी विशेषदूत जाल्मे खलिलजादसँग सोमबार प्रारम्भिक वार्ता गरेको जनाएको छ।
समूहले अफगान शान्तिका बारेमा पाकिस्तान र साउदी अरेबिया तथा युएईका अधिकारीहरुसँग पनि विस्तृत परामर्श गरेको बताएको छ।
वार्तामा उनीहरुले अफगानिस्तानबाट सबै अन्तर्राष्ट्रिय फौज फिर्ता हुनुपर्ने पूर्वसर्त राखेका छन्।
साउदी अरेबिया, युएई र पाकिस्तानले मात्र सन् १९९६ देखि २००१ सम्म चलेको तालिबान सरकारलाई मान्यता दिएका थिए।
अबुधाबीमा खलिलजाद र तालिबानबीच प्रत्यक्ष वार्ता भए नभएको बारेमा अमेरिकाले अझै पुष्टी गरेको छैन। गत सोमबार वासिङ्टनले एक वक्तव्य जारी गरी युएईमा अफगानिस्तानको शान्तिका बारेमा वार्ता भइरहेको बताएको थियो।
वक्तव्यमा खलिलजादले द्वन्द्व समाप्तीका बारेमा इच्छुक सबै पक्षसँग वार्ता गर्ने जनाइएको छ।
सन् २००१ मा अफगानिस्तानमा अमेरिकी सेनाले हस्तक्षेप गरेको थियो। उक्त घटनापछि तालिबान सरकार अपदस्थ गरिएको थियो। तर, त्यसयता तालिबान समूह र इस्लामिक स्टेटले अफगानिस्तानमा सशस्त्र युद्ध गरिरहेका छन् जसका कारण हजारौंको ज्यान जानुका साथै लाखौं विस्थापित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।