वासिङ्टन- अमेरिकाले मेक्सिको सीमामा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गरेको छ।
अमेरिका प्रवेश गर्न चाहने आप्रवासीको ठूलो जत्थालाई सीमामै रोक्ने उद्देश्यले यसअघि करिब ६ हजार सेना तैनाथ गरिएकामा त्यसमा कटौती गरी हाल करिब तीन हजारमा सीमित गरिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ।
मध्य अमेरिकी देशहरु खासगरी होन्डुरसबाट ठूलो संख्यामा आप्रवासीहरु अमेरिका प्रवेशका लागि अघि बढेको भन्दै भन्सार तथा सीमा सुरक्षा बल (सिबिपी) को सहयोगका लागि थप सेना परिचालन गरिएको थियो।
अमेरिकी रक्षा विभागका प्रवक्ता रोबर्ट म्यानिङले हाल सीमा क्षेत्रमा तैनाथ अमेरिकी सेनाको संख्या करिब तीन हजार मात्र रहेको बताए। यी सेनामध्ये टेक्सास कोरिडोरमा एक हजार, एरिजोनामा नौ सय तथा क्यालिफोर्नियामा एक हजार दुई सय रहेको उनले बताए।
तथापि, सिबिपीको आवश्यकता बमोजिम रक्षा विभागले आवश्यक संख्यामा सैनिक पठाउने उनले बताए।
यसै वर्षको नोभेम्बरमा सीमा करिब ६ हजार सेना परिचालन गरिएको थियो, तर पेन्टागनले कतिपय सीमा क्षेत्रमा सैनिकको बाक्लो उपस्थिति आवश्यक नरहेको मूल्यांकन गरेसँगै सैनिक कटौती गरिएको जनाएको छ।रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।