नयाँ दिल्ली- भारतको निकट मानिने माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहसँगको वार्तापछि भारतले माल्दिभ्सलाई एक अर्ब ४० करोड अमेरिकी डलर सहयोग दिने भएको छ।
साेमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि माल्दिभ्सका राष्ट्रपति सोलिहले सञ्चारकर्मीहरूसँग भने, 'निकट छिमेकीका नाताले दुई देशका जनताबीच मित्रवत सम्बन्ध र सांस्कृतिक समानता रहेको छ। घनिष्ट छिमेकीका हिसाबले दुई देशबीचको व्यापार व्यवसायलाई प्रवर्द्धन सम्भव भएको छ। भारत माल्दिभ्सको एक निकट मित्रमात्रै नभएर एउटा विशाल व्यापारिक सहयोगी हो।'
भेटवार्तामा दुई देशका अधिकारीबीच सामुद्रिक गस्ती, हवाई निरीक्षण र सूचनाको आदानप्रदानमार्फत दुबै देशको सुरक्षालाई मजबुत पार्ने सहमति भएको छ।
भारतले माल्दिभ्सको विकासका लागि घाेषणा गरेको एक अर्ब ४० करोड अमेरिकी डलर सहयोग बजेट, मुद्राको विनिमय व्यवस्थापन र ऋण गरी विभिन्न शीर्षकमा प्रदान गरिने, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताए। दुई देशबीचको गहिरो सम्बन्ध विस्तारका लागि छलफल सफलसिद्ध भएको मोदीको भनाइ थियो।
मोदीले भने, 'हामीले माल्दिभ्ससँग बृहद व्यापार सम्बन्ध चाहन्छौँ। भारतीय कम्पनीहरूका लागि माल्दिभ्समा प्रशस्त अवसरहरू रहेका छन्। यो दुबै मुलुकका लागि फाइदाको बिषय हो।'
उनले थपे, 'हाम्रा सुरक्षा चासोहरू अन्तरनिहित छन्। हामीले हाम्रा जन्मभूमिमा एक आपसमा हानिकारक हुने गतिविधिलाई प्रवेश दिने छैनौँ।'
निर्वाचनपूर्व खासै चर्चामा नआएका ५४ वर्षीय सोलिहले पूर्व राष्ट्रपति अब्दुल्लाह यामीनसँगको प्रतिस्पर्धामा अनपेक्षित रूपमा राष्ट्रपतिमा निर्वाचित भएका थिए। यामीनलाई चीनको निकटस्थ मानिन्थ्यो भने सोलिहलाई भारत तथा पश्चिमा मुलुकहरूको सहयोग रहेको बताइने गर्छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।