सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश संसदीय दलको नेता चयन भएका छन्। सोमबार वीरेन्द्रनगरमा बसेको नेकपाको संसदीय दलको बैठकले शाहीलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको हो।
नेकपाका कर्णाली प्रदेश सहइन्चार्ज एवं पूर्व नेकपा एमालेका संसदीय दलका नेता यामलाल कँडेलको प्रस्तावमा उनलाई सर्वसम्मत नेता चयन गरिएको हो ।
शाही पूर्व नेकपा माओवादी केन्द्रको संसदीय दलको नेता समेत थिए। एमाले र माओवादीबीच एकता भएको लामो समय बितिसक्दा पनि कर्णालीमा संसदीय दलको एकीकरण हुन सकेको थिएन। हालसम्म संसदमा दुवै दलको हैसियतमा सांसदहरुले प्रतिनिधित्व गर्दै आएका थिए।
बैठकले संसदीय दलको विधान मस्यौदा समेत पारित गरेको छ। मस्यौदा निर्माणका लागि आइतबार तीन सदस्यीय कार्यदल गठन गरिएको थियो। उक्त कार्यदलले पेस गरेको मस्यौदा सोमबार पारित गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।