काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मधेसको राजनीतिबारे समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् ।
जनमत पार्टीको आजदेखि सुरु भएको महाधिवेशनमा शुभकामना दिँदै उनले सो कुरा बताएका हुन् ।
उनले मधेसमा अधिकारका लागि थुप्रै सङ्घर्ष भएको र केही प्राप्त पनि भएको तर त्यो कार्यान्वयन भयो कि भएन भनेर समीक्षा हुन आवश्यक रहेको बताए । विगतको चुनावका बारेमा पनि समीक्षा हुनु आवश्यक रहेको बताउँदै उनले अब के गर्न सकिन्छ भन्नेतर्फ पनि गम्भीर समीक्षा हुनुपर्ने सुझाव दिए ।
देशलाई आर्थिक सुशासनमा लैजान ध्यान दिनुपर्ने बताउँदै उनले भने, ‘मधेसबाट राष्ट्रपति भए, अहिले प्रधानमन्त्री छन् तर मधेसी जनतामा आधारभूत परिवर्तन भयो कि भएन त्यसको बारेमा पनि समीक्षा गर्नुपर्ने बेला आएको छ ।’
उनले मधेसको छोरा प्रधानमन्त्री भएकै बेला मधेसको हितमा काम नहुँदा जनतामा असन्तुष्टि बढ्दै गएको बताए । उनले भने, ‘म विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक भएको बेला मधेसमा आधा पनि विद्युत् पुगेको थिएन, पछि त्यसको विस्तारमा लागे र घरघरमा बत्ती बल्यो ।’
मधेस प्रदेश देशको मुटु भएको बताउँदै उनले यसलाई आर्थिक हबको रूपमा विकास गर्नुपर्ने बताए । त्यसपछि मात्र देशले आर्थिक रूपमा चाँडै प्रगति गर्ने घिसिङले बताए । मधेस प्रदेश कृषिका लागि उर्वर भूमि भएको बताउँदै उनले तर सिँचाइको अभाव समस्याको रूपमा रहेको बताए । घिसिङले मधेसका खेतमा पनि विद्युत् सुविधा पुर्याउनुपर्ने बताउँदै कृषिका लागि त्यो निःशुल्क गर्नुपर्नेमा जोड दिए ।
विद्युतबाट पनि देशमा आर्थिक रूपान्तरण गर्न सकिने बताउँदै उनले त्यसका लागि सरकारले चाँडै काम गर्नुपर्ने बताए । वर्तमान सरकारबाट जनतासँग गरेको प्रतिबद्धता पुरा नभएको बताउँदै उनले यसमा सरकार गम्भीर हुनुपर्ने धारणा राखे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।