काठमाडौं– नेपाली कांग्रेस भित्र पार्टीको विधान संशोधन मस्यौदाका विषयमा विवाद चर्केर गएको छ।
विधान मस्यौदामा पदाधिकारी संख्या बढाउनुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको माग सम्बोधन नगर्ने अडानमा संस्थापन पक्ष रहेपछि विवाद समाधान हुनुको सट्टा यो विषय झन् पेचिलो बन्दै गएको छ।
विवाद समाधानका लागि सोमबार बिहान सिंहदरबारमा बसेको काँग्रेस पदाधिकारी बैठक पनि बिना निष्कर्ष सकिएको थियो। साँझ केन्द्रीय कार्य समिति बैठकबाट सो विषयमा आवश्यक निर्णय लिने निर्णय गर्दै पदाधिकारी बैठक बिना निष्कर्ष सकिएको थियो।
पदाधिकारीको संख्या, केन्द्रीय कार्य समितिको प्रतिनिधित्वलगायतका केही सवालमा देखिएको समस्या साँझ बस्ने केन्द्रीय कार्य समिति बैठकले हल गर्ने निर्णय गर्दै पदाधिकारी बैठक सकिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।
अहिले काँग्रेसका नेताहरु रामशाहपथस्थित योगम्बर पार्टी प्यालेसमा जारी महासमिति बैठकमा सहभागी भएका छन्। आज तेस्रो दिन काँग्रेस महासमिति बैठकको बन्द सत्र जारी छ।
कांग्रेस महासमितिको बन्दसत्रमा राजनीतिक, आर्थिक, सांगठनिक र पार्टीको आय-व्ययसम्बन्धी प्रतिवेदनमा छलफल भइरहेको छ। तर विधान मस्यौदामा भने सहमति नजुटेपछि अपरान्ह केन्द्रीय कार्य समितिको बैठक बोलाइएको हो। साँझ ६ बजेपछि बस्ने केन्द्रिय कार्य समिति बैठकले विधान मस्यौदामा पनि सहमति जुटाउने प्रवक्ता शर्माको दाबी छ।
महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिले तयार पारेको विधान सम्बन्धि प्रतिवेदनमा काँग्रेस केन्द्रिर्य कार्य समितिमा अझै सहमति जुटन सकेको छैन। पार्टीको संस्थापन पक्ष र वरिष्ठ नेता पौडेल पक्षबीच सहमति नजुटेकै कारण सो प्रतिवेदन अझै महासमिति बैठकमा पेश हुन नसकेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।