सोल- उत्तर कोरियाले अमेरिकाद्वारा हालै जारी गरिएको नाकाबन्दीप्रति आपत्ति जनाएको छ।
अमेरिकाले गराएको सो नाकाबन्दीका कारण उत्तर कोरियामा निशस्त्रीकरणसम्बन्धी कार्यक्रम रोकिने कोरियाले चेतावनी दिएको हो। गएको जुन महिनामा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको वार्तापछि उत्तर कोरियामा निशस्त्रीकरणको विषयमा सहमति भएको थियो। तर पनि सो विषयमा पछिल्लो समयमा प्रगति हुन सकिरहेको छैन।
सिंगापुर बैठकमा भएको सहमतिअनुसार यी दुई नेताले उत्तर कोरियामा निशस्त्रीकरण गर्नेबारेमा हस्ताक्षर गरेका थिए। तर त्यसपछिका दिनहरु सहज हुन सकेका छैनन्, वार्तामा पछिल्लो समयमा अवरोध उत्पन्न हुने गरेको छ।
अमेरिकाले अहिलेकै अवस्थामा बिना सर्त उत्तर कोरिया निशस्त्रीकरण गरोस् भन्नेमा छ। तर पनि यस विषयमा उत्तर कोरियाले भने अमेरिकाले लगाउँदै आएका नाकाबन्दीहरुलाई फुकाइदेओस् र हटाओस भन्ने चाहन्छ।
अहिले उत्तर कोरियाले अमेरिकाले लगाएका नाकाबन्दी तत्कालै नहटाउने हो भने निशस्त्रीकरणको प्रक्रिया पनि आरम्भ नहुने र आगामी दिनमा पनि यो प्रक्रियाले कहिल्यै पूर्णता नपाउने भनेको छ।
अमेरिकाले गत हप्ता उत्तर कोरियाली तीन अधिकारीका विरुद्धमा मानवअधिकार हननको आरोप लगाएको छ। उनीहरुका विरुद्ध पनि अमेरिकाले नाकाबन्दी जारी गरेको छ। तीमध्येका एकजना चो योङ हाय उत्तर कोरियाली नेता किमका दाहिने हात मानिन्छन्।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।