काठमाडौं– नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले संसद सचिवालयबाट घरभाडा वापत रकम लिएको भनेर आएको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।
उनले एक विज्ञप्ती जारी गर्दै संसद सचिवालयबाट आफूले घरभाडा वापत रकम लिएको पाइए फिर्ता गर्ने बताएका हुन्।
काठमाडौं ६ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद प्रधानले २०७४ फागुनदेखि २०७५ मंसिरसम्म दश महिनामा घरभाडा वापतको रकम आफूले लिएको भन्ने समाचाबाट आफ्नो ध्यानाकर्षण भएको विज्ञप्तिमा भनेका छन ।
उनले त्यसका लागि आइतबार संसद सचिवालयमा पत्र समेत दर्ता गरेका छन्।
प्रधानले संसद सचिवालयमा दर्ता गरेको पत्रमा भनेका छन्, ‘मैले गत २०७४ फागुनबाट घरभाडा वापत संसद सचिवालयबाट रकम लिएको भन्ने समाचार सार्वजनिक भएको हुँदा के कति प्राविधिक कारणबाट सो रकम आफ्नो नाममा आएको हो, घर भाडा दिएको अवस्था रहे फिर्ता गर्ने आवश्यक व्यवस्थाका लागि अनुरोध छ।’
उनले घरभाडा दिएको अवस्था रहे आफ्नो मासिक तलब भत्ताबाट कटौती हुने गरेर वा एक मुष्ट बुझाउन पनि आफू तयार रहेको पत्रमा भनेका छन्।
प्रधानले २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा निर्वाचित भएपश्चात सम्पत्ति विवरण सम्वन्धी सूचनामा कामनपा–३० (हाल २७)मा सगोल घर रहेको कारणले घरभाडा वापत दिइने रकम नलिने साथै दोस्रो संविधानसभा र हाल प्रतिनिधि सभाको सदस्य रहिरहँदा समेत औषधिपोचार वापत पाउने सुविधा नलिएको संसद सचिवालयमा दर्ता गरेको पत्रमा भनेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।