जनकपुर- जनकपुरमा नक्कली नेपाली नागरिकता बनाउने गिरोहमा संलग्न रहेको आरोपमा थप तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरु जिल्ला प्रशासन कार्यालयकै कर्मचारीहरु रहेका छन्।
नक्कली नागरिकता र पासपोर्ट बनाउने कार्यमा संलग्न रहेको आरोपमा जिल्ला प्रशासन कार्यालय धनुषाका एक कर्मचारीसहित चार जना पक्राउ परेको दुई दिनपछि थप तीन जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयका नासु भोला मण्डल, कार्यालय सहयोगी अरुणकुमार यादव र कार्यालय सहयोगी वीरेन्द्र चौधरी रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
यसअघि जिल्ला प्रहरी कार्यालय धनुषाले मंसिर २८ गते पत्रकार सम्मेलन गरी जिल्ला प्रशासन कार्यालयमा सहयोगी पदमा कार्यरत्त ४२ वर्षीय महावीर मण्डलसहित जनकपुर उपमहानगरपालिका वडा नम्बर–२० स्थित देवपुरा रुपैठा बस्ने ३१ वर्षीय रोशनकुमार चौधरी, धनुषाको औरही गाउँपालिका वडा नम्बर–५ बस्ने ४९ वर्षीया गंगा साह र रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्बर–४ बस्ने हेमन्तकुमार पाण्डेलाई नक्कली नागरिकता बनाई बेच्ने गरेको आरोपमा पक्राउ गरी सार्वजनिक गरेका थिए।
पक्राउ पर्नेमध्ये गंगा साह औरही गाउँपालिकाका वडा सदस्य पनि हुन्। पक्राउ परेका विरुद्ध लिखत कीर्ते, नागरिकता ऐन, संगठित अपराध ऐनको कसुर ठहर्ने प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए।
प्रशासनले गिरोहमा कर्मचारीसहित केही जनप्रतिनिधिहरुको समेत संलग्नता हुन सक्ने भन्दै छानबिन प्रक्रियालाई तीव्र बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।