काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारीमा संस्थापन पक्षले सहमति भएको भने पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले त्यसको खण्डन गरेको छ।
संस्थापन पक्षले ८ पदाधिकारी हुनेगरी सहमति हुने जनाएको थियो। विद्यमान प्रावधानमा एक सहमहामन्त्री थपिने गरी सहमति बन्न लागेको बताइएको थियो।
पौडेल पक्षका नेता नवीन्द्रराज जोशीले संस्थापन पक्षको भनाइको खण्डन गरे। उनले भने, 'छलफल भइरहेको छ। संख्या, चयन प्रक्रियामा सहमति भएको छैन।'
संस्थापन पक्षले केही संख्या थप्ने संकेत दिएको बताइएको छ। तर,थपिएका पदाधिकारीलाई सभापतिले मनोनित गर्नेगरी विधानमा व्यवस्था गर्न चाहेको छ।
शनिबारदेखि जारी महासमिति बैठकमा शीर्ष नेताहरुबीच पदाधिकारीको विषयमा सहमति हुन नसक्दा विधान पेस हुन सकेको छैन।
आइतबार बोलेका अधिकांश महासमिति सदस्यले शीर्ष नेताहरुको आलोचना गरेका थिए। पार्टी कमजोर हुनुमा दलगत गुटलाई दोष दिएका थिए। आइतबार तीन दर्जन बढी महासमिति सदस्यले बोलेका थिए।
सदस्यहरुले बोल्ने क्रम आज पनि जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।