काठमाडौं- ३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगर र जिल्ला अदालत मोरङको आदेशलाई चुनौती दिँदै सात आरोपीहरू सर्वोच्च अदालत पुगेका छन्।
सर्वोच्च पुगेका अधिकांश आरोपितहरुलाई जिल्ला अदालत थुनामा राख्ने आदेश गरेको थियो। त्यस विरुद्ध उनीहरू उच्च अदालत समेत पुगेका थिए। तर उच्चले पनि केही आरोपितहरूलाई थुनामा मुक्त गर्न अस्वीकार गरेपछि उनीहरु सर्वोच्च पुगेका हुन्।
सात आरोपीले दायर गरेको निवेदनमा पहिलो सुनुवाइ भइसकेको छ। सर्वोच्चले उनीहरूको निवेदनमा उच्च र जिल्ला अदालतको आदेश मगाउने निर्णय गरेको छ।
अबको सुनुवाइमा सर्वोच्चले थुनामा राख्ने निर्णयको बारेमा तल्ला अदालतले दिएको आदेशको वैधानिकता जाँच गर्नेछ। आइतबार एक अभियुक्त राजन थापाको मुद्दामा ‘कैफियत प्रतिवेदन’ माग गर्ने आदेश सर्वोच्चले गरेको छ।
सुन तस्करी प्रकरणमा जिल्ला र उच्च अदालतले धरौटीमा रिहा गर्न अस्वीकार गरेपछि डिएसपी संजयबहादुर राउत, रामचन्द्र तिवारी, सम्बिरप्रसाद तोलाङ्गे, हेमन्त गौतम, राजन थापा , तुलाराम थारू, दम्बा सान्डु तमाङलगायत सर्वोच्च पुगेका हुन्।
उनीहरू विरुद्धको मुद्दामा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले फाइल मगाउने आदेश जारी गरिसकेको छ। तोलाङ्गे र गौतमको मुद्दामा सोमबार मात्रै न्यायाधीश दीपकुमार कार्कीको इजलासले फाइल मगाउने आदेश दिएको छ।
जिल्ला अदालत र उच्च अदालतको आदेशलाई चुनौती दिँदै उनीहरूले सर्वोच्चमा १७ नम्बरको निवेदन दिएका हुन्। तल्लो अदालतको आदेश चित्त नबुझे माथिल्लोमा जान पाउने सुविधाअन्तर्गत उनीहरू सर्वोच्च आएका हुन्।
करीब डेढ महिना लामो अनुसन्धानपछि गत बैसाख २६ गते जिल्ला सरकारी वकिलको कार्यालयले बहालवाला प्रहरी अधिकृतसहित २९ जनालाई पक्राउ गरी अदालतमा पेस गरेको थियो।
उनीहरू विरुद्ध संगठित अपराधअन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी-पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक बनाएको र कर्तव्य ज्यान मुद्दामा आरोपपत्र दायर भएको थियो।
तीन आरोपित विरुद्ध सरकार पनि सर्वोच्चमा
उच्च अदालतले धरौटीमा रिहा गरेपछि केही प्रहरी अधिकृत विरुद्ध सरकार पनि सर्वोच्चमा पुगेको छ।
उच्च अदालत विराटनगरबाट तारेखमा रिहा भएका प्रहरी अधिकृतहरू गोविन्द निरौला र विकासराज खनाल, रामचन्द्र तिवारी विरुद्ध सरकारले पुनरावेदन गर्न निवेदन दर्ता गराएको छ।
मिलेमतोमा सुन तस्करी गर्ने चुडामणि उप्रेती ‘गोरे’ समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म ३८ सय किलो सुन तस्करी गर्दै १७ अर्ब १ करोड ८० लाख रुपैयाँ नोक्सान पुर्याएको दाबी अभियोगपत्रमा गरिएको छ।
सरकारी वकिलको कार्यालयले उक्त रकम बिगोका रुपमा उनीहरुसँग असुल हुनुपर्ने माग दाबी गर्दै जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो।
१६ आरोपितको निवेदन उच्चमा विचाराधीन
सुन तस्करीमा सुन ल्याउनका लागि मुख्य लगानीकर्ता भनिएका भुजुङ गुरुङसहित १६ आरोपितको निवेदन भने उच्च अदालत विराटनगरमा विचाराधीन छ। गत बिहिबार आरके ज्वेलर्स न्युरोडका सञ्चालक आरके भनिने राजेन्द्रकुमार शाक्य र बिमल पोद्दारलाई धरौटीमा छोड्ने आदेश सुनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।