काठमाडौं– संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर जबराको विषयमा उजुरी माग गरेको छ।
संसदीय सुनुवाइ विशेष समितिको आइतबार बिहान सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधीश जबराविरुद्ध उजुरी दिन सोमबारबाट १० दिनको सूचना प्रकाशित गर्ने निर्णय गरेको हो।
गत बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गर्दै सुनुवाइ गर्न समितिलाई पत्राचार गरेको थियो। संवैधानिक परिषद्को उक्त पत्रपछि बसेकाे सुनुवाई समितिको बैठकले उजुरी माग गर्ने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले बताए।
उजुरी दिने म्याद सकिएपछि समितिले उजुरीको सम्बन्धमा उजुरीकर्तासँग आवश्यक छलफल गर्नेछ। उजुरीकर्ताको उजुरीमाथि छलफल गरेपछि तत्काल प्रधानन्यायाधीशमा सिफारिस भएका जबरासँग सुनुवाइ गर्ने मिति तय हुने सभापति कर्णले जानकारी दिए।
समितिले जबराको सुनुवाइ चित्त बुझे प्रधानन्यायाधीशमा उनको नाम अनुमोदन गर्नेछ। सुनुवाई समितिले अनुमोदन गरेमा उनी सर्वोच्चको २८औं नेतृत्वमा पुग्ने छन्।
यसअघि सिफारिस भएका न्यायाधीश दिपकराज जोशी संसदीय सुनुवाइबाट अस्वीकृत भएका थिए। जोशी अस्वीकृत भएपछि प्रधानन्यायाधीशको जिम्मेवारी ओमप्रकाश मिश्रको काँधमा आइपरेको थियो।
मिश्रको कार्यकाल यही पुस १७ गते सकिँदै छ। विशेष समितिले अनुमोदन गरे जबरालाई राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्ने बाटाे खुला हुनेछ। जबरा ४ वर्षका लागि न्यायालयको नेतृत्वमा पुग्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।