काठमाडौं- सार्वजनिक यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्य गरी कम्पनी मातहतमा आउन यातायात व्यवसायीलाई दिइएको समयावधि फेरि थप भएको छ। आगामी फागुन मसान्तसम्ममा सबै यातायात सेवा प्रदायकलाई दिइएको समयावधि दोस्रो पटक थप भएको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत यातायात व्यवस्था विभागले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै यातायात व्यवसायीलाई दिइएको समयावधि तीन महिना थप गरेको जानकारी दिएको हो। यसअघि यातायात व्यवसायीलाई दिइएको समयावधि आजै समाप्त हुँदैछ।
साउन १ गतेबाट सिन्डिकेट अन्त्य गर्ने भनिए पनि मन्त्री महासेठले व्यवसायीसँगको मिलेमतोमा मंसिर मसान्तसम्मको समय थप गरेका थिए।
तर सो अवधिसम्ममा पनि यातायात व्यवसायी कम्पनी मातहतमा नआएपछि फेरि फागुनसम्मको म्याद थप गर्दै सार्वजनिक यातायातमा सिन्डिकेट लगाउँदै आएका व्यवसायीलाई सरकारले सहज पारिदिएको छ।
आजै राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा यातायात मन्त्री रघुवीर महासेठले पूराना कानुनी व्यवस्थाका कारण सार्वजनिक यातायात सेवा प्रवाह गर्ने व्यवसायीहरु कम्पनी मातहतमा आउन नसकेको बताएका थिए।
अहिलेसम्म १०/१२ हजार मात्र बसहरु कम्पनीमा आएको भन्दै उनले अब यातायात क्षेत्रलाई व्यवस्थित गर्न यातायात प्राधिकरण गठन गर्ने योजनामा सरकार रहेको बताएका थिए।
कार्यक्रममा मन्त्री महासेठले भने, ‘यसको लागि समिति बनाइसकेका छौं । यो समितिले आउने साताभित्रै प्रतिवेदन दिन्छ । अब नेपालको यातायातलाई प्राधिकरणले सञ्चालन गर्छ।’
यातायात प्राधिकरण पब्लिक-प्राईभेट पार्टनरसिप मोडलमा चल्ने र आगामी बैशाख १ गतेदेखि प्राधिकरणकै मातहातमा बसहरु सञ्चालन हुने उनले जानकारी समेत उनले दिएका थिए।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।