काठमाडौं– त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा प्रणाली अन्तर्गतका सम्पूर्ण परीक्षा केन्द्रहरूमा सीसी क्यामरा जडान गर्न अनिवार्य गरेको छ।
त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको २०८३ साल भाद्र ३ गते बसेको बैठकको निर्णयअनुसार परीक्षा सञ्चालन कक्ष, उत्तरपुस्तिका सिलबन्दी गर्ने कक्ष र प्रवेशद्वारको सम्पूर्ण दृश्य प्रस्ट देखिने गरी सीसी क्यामरा जडान गर्नुपर्ने व्यवस्था गरिएको हो।
उक्त क्यामरामा कम्तीमा डेढ महिनासम्मको दृश्य रेकर्ड हुनुपर्ने र त्यसको अनुगमनसम्बन्धी पहुँच सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयलाई उपलब्ध गराउनुपर्ने गरी सूचना जारी गरिएको छ।
कार्यालयले आगामी दिनहरूमा परीक्षा सञ्चालन गर्दा यो व्यवस्थालाई अनिवार्य रूपमा पालना गर्न सम्बन्धित सबै परीक्षा केन्द्रहरूलाई सूचित गरेको छ। यदि कुनै परीक्षा केन्द्रले तोकिएबमोजिम सीसी क्यामराको व्यवस्थापन तथा अनुगमनको पहुँच उपलब्ध नगराएमा आगामी परीक्षाका लागि त्यस्ता परीक्षा केन्द्रहरू परिवर्तन समेत गर्न सकिने चेतावनी परीक्षा नियन्त्रण कार्यालयले दिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।