जनकपुरधाम- करोडौंको जग्गा कीर्ते गरेर बेचेको आरोपमा पक्राउ परेका रत्नसागर मठका महन्त वैकुण्ठदास वैष्णव विरुद्धको मुद्दामा शुक्रबारदेखि थुनछेक बहस सुरु भएको छ।
प्रतिवादीद्वय मठका महन्त वैकुण्ठदास र पूजारी अशोक शर्माको बयान पश्चात् शुक्रबारदेखि धनुषा जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको एकल इजलासमा थुनछेक बहस सुरु भएको हो।
बहसको पहिलो दिन वादी तर्फबाट सरकारी वकिलद्वय शम्भु गौतम र खगेन्द्र कटुवालसँगै अधिवक्ताहरू हेमकुमार शर्मा र विपिनकुमार झाले बहस गरेका थिए।
समय अभाव भएकाले दुवै तर्फका बाँकी कानुन व्यावसायीहरूले आइतबार वकालत गर्ने छन्। वादी तर्फबाट अधिवक्ता देवेन्द्र ठाकुर र सुदीप कोइराला तथा प्रतिवादी तर्फबाट वरिष्ठ अधिवक्ता विनोद शर्मा, श्याम मिश्र, चन्द्रप्रकाश शर्मा, प्रकाशकुमार घिमिरे, मंसुर राईन, अच्युतम आचार्य, केदार आचार्य, बलराम सुवेदी, रामअशीष लाल तथा रिंकु यादवले वकालत गर्ने प्रतिवादी तर्फका कानुन व्यावसायी श्याम मिश्रले जानकारी दिए।
हजारी जनक विद्यापीठ जनकपुरका प्राचार्य विजयकुमार चौधरीको जाहेरीमा नेपाल सरकारका तर्फबाट जिल्ला अदालत धनुषाका सरकारी वकिल शम्भू गौतम र खगेन्द्र कटुवालले गत मंगलबार जिल्ला अदालत धनुषामा अभियोगपत्र दर्ता गराएका थिए।
अभियोग पत्रमा प्रतिवादी महन्त वैकुण्ठ दास र पूजारी अशोक शर्मासँग १६ करोड ९१ लाख २५ हजार विगो तथा जेल सजायको मागदाबी गरिएको छ।
संस्कृत विश्वविद्यालयको आंगिक क्याम्पस हजारी जनक विद्यापीठको २०५० सालदेखि नै भोगचलनमा रहेको जनकपुर-८ जग्गा कीर्ते गरेको आरोप महन्तलाई लागेको छ।
जनकपुर-८ सिट नम्बर १३५४/१४ को कित्ता नम्बर ६२ को २ कठा ११ धूर तथा सिट नम्बर १३५४/१५ को कित्ता नम्बर १,२, २८ तथा ४९ समेत गरी २ बिघा ८ कठ्ठा १४ धूर जग्गा कीर्ते लालपूर्जा बनाई महन्तले बिक्री गर्न खोजेका थिए। विद्यापीठका प्राचार्य विजय चौधरीले महन्त वैकुण्ठदास र पूजारी अशोक शर्मा विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।