राजविराज– सप्तरीको डाकनेश्वरी नगरपालिका ९ पत्थरगढाकी एकल महिलाको परिवारमा वडाध्यक्षले गराएको नाकाबन्दी प्रहरी समेतको सक्रियतामा शुक्रबारदेखि खुल्ला भएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा भएको छलफलपछि विहारी शर्मा (सुतिहार) ले एकल महिला सीतादेवी शर्माको घर अगाडिको जग्गामा आवतजावत बन्द हुनेगरी गरेको घेराबेरा खुल्ला गर्ने सहमति जनाएपछि विवाद अन्त्य भएको हो।
सीतादेवीका २ छोरा शिवचन्द्र र धीरेन्द्र वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा रहेकाले उनीहरु आएपछि जग्गाको विषयमा छलफल हुने सहमति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
वडा नं ९ का अध्यक्ष कर्णदेव चौधरीको दबाबमा विहारीले भाउजू ५० वर्षीया सीतादेवीको परिवारलाई आवतजावत रोकिने गरी घेराबेरा गरेका थिए। जसका कारण सीतादेवीको ९ जनाको परिवार तीन दिनदेखि घरमै थुनिएर बस्नुपरेको थियो।

प्रहरी चौकी पत्थरगढाका असई भागेश्वर माझीले सहमतिपछि शुक्रबार बिहानै अवरोध हटाइएको जानकारी दिए।
देवरसँगको जग्गा विवाद बढ्दै गएपछि गत मंगलबार बोलाइएको पञ्चायतीमा आफूले वडाध्यक्षको निर्णय नमान्दा नाकाबन्दी खेप्नुपरेको सीतादेवीको आरोप छ। आफ्नो नाममा रहेको एक कठ्ठा ८ धुर जग्गामध्ये करिब १४ धुर जग्गा देवरका नाममा गरिदिन चौधरीले प्रस्ताव गरेपछि सीतादेवीले इन्कार गरेकी थिइन्।
सोही प्रतिशोध साँध्न चारैतर्फको बाटो बन्द गराइएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।