राजविराज– गहुँ छर्नका लागि खेत जोतेर तयारी अवस्थामा राख्दा पनि बिउ नपाएपछि सप्तरीको विष्णपुर गाउँपालिका–१ का किसान सूर्यनारायण यादव यतिबेला छट्पटिएका छन्।
करिब दुई सातादेखि बिउका लागि दिनहुँजसो सदरमुकाम राजविराज धाउने गरे पनि नपाएपछि उनी निराश बन्दै गएका छन्।
बाली लगाउने समय घर्किंदै गएपनि अहिलेसम्म बिउ फेला पार्न नसकेको भन्दै उनले गुनासो गरे। ‘बिउ लिन गाउँपालिकाको डिलरमा धाउँदा पनि दिएनन्,’ उनले पीडा पोख्दै भने, ‘सदरमुकाम धाएर दौडधुप गर्दा पनि हात लागेको छैन।’
सूर्यनारायण झैं राजगढ गाउँपालिकाका किसान लालदेव यादव पनि शुक्रबार कृषि ज्ञान केन्द्र राजविराजमा नै भेटिए। ‘खेत तयार गरेर गहुँ छर्नका लगि ठिक्क छ,’ उनले भने, ‘तर कतै पनि बिउ नपाएका कारण जोतेको खेत पनि बाँझै रहने पो हो की भन्ने चिन्ता बढेको छ।’
साल्ट ट्रेडिङ लिमिटेड र कृषि ज्ञान केन्द्र धाउँदा हैरानी मात्र पाएको उनले गुनासो गरे।
लालदेव र सूर्यनारायणको मात्र यो समस्या होइन। जिल्लाका अधिकांश किसानले यतिवेलो बिउ अभावका कारण सास्ती झेल्नु परेको छ।
कृषि ज्ञान केन्द्र सप्तरीका अनुसार समयमा आवश्यकता अनुसारको बिउको उपलब्ध हुन नसक्दा सप्तरी र सिराहामा अभाव भएको हो।
गत मंसिर ९ गते मात्र गहुँको बिउ खरिदका लागि प्रदेश सरकारले निर्देशन दिएको र बाली लगाउने बेला नजिकिँदै गरेको समयमा टेण्डर मार्फत बिउ खरिद गर्न नसकिएको ज्ञान केन्द्रका प्रमुख भागिरथ यादवले बताए।
साल्ट ट्रेडिङसँग २ सय ३० मेट्रिक टन बिउको सम्झौता भए पनि सम्झौता अनुसार बिउ नआएपछि किसानलाई दिन नसकिएको उनको भनाइ छ।
‘साल्ट ट्रेडिङले १ सय ५ टन मात्र उपलब्ध गरायो,’ यादवले भने,‘त्यो पनि सिराहा र सप्तरीका किसानलाई बाँड्नु पर्ने भएकाले सबैतिर बिउको अभाव छ।’
जिल्लामा कृषि ज्ञान केन्द्र र साल्ट ट्रडिङले डिलर मार्फत गहुँको बिउ वितरण गर्दै आएका छन्। ज्ञान केन्द्रले करिब ६० टन तथा साल्ट ट्रडिनले १ सय ६ दशमलव २४ टन बिउ मात्र सप्तरीमा बिक्री भएको जानकारी दिए।
केन्द्रका अनुसार सप्तरीका लागि ७ सय मेट्रिक टन गहुँको बिउ आवश्यक छ। अहिले पनि जिल्लामा करिब ५ सय ५० टन गहुँको बिउ अपुग भएकाे कृषि ज्ञान केन्द्र सप्तरीका कर्मचारीहरुले जानकारी दिएका छन्।
साल्ट ट्रडिङले २ हजार ६ सय २० रुपैयाँ प्रतिबोरा र कृषि ज्ञानकेन्द्रले ४० प्रतिशत अनुदानमा १ हजार ५ सय ७२ रुपैयाँ प्रतिबोरा बेच्ने गरेको गहुँको बिउ खुल्ला बजारमा भने प्रतिबाेरा ४ हजार रुपैयाँले बिक्री भइरहेको किसानहरूको गुनासो छ।
जिल्ला आपूर्ति समितिका संयोजक तथा सप्तरीका सिडिओ सुरेन्द्र पौडेलले बिउ सहज वितरण तथा कालोबजारी नियन्त्रणका लागि स्थानीय तहलाई पत्राचार गरिसकिएको भन्दै आवश्यकता परे सुरक्षा प्रबन्ध समेत मिलाइने बताए।
बिउको कालोबजारी सुरु भएको गुनासो आएपछि सदरमुकाममा समेत अनुगमन तीव्र बनाइएको उनको भनाइ छ।
अनुदाको बिउ भारततर्फ समेत निकासी हुन थालेपछि पछिल्लो समय सुरक्षाकर्मी परिचालन गरी करिब ४० क्विन्टल नियन्त्रणमा लिई जिल्ला भन्सार कार्यालय बेल्हीमा बुझाइएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।