काठमाडौं– नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क (स्वास्थ्य कक्ष) तयार गरिएको छ । हेल्थ डेस्कमार्फत महाधिवेशन प्रतिनिधिहरूका लागि स्वास्थ्य सेवा प्रदान गरिनेछ ।
महाधिवेशन आयोजक समितिअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. केदारनरसिंह केसीका अनुसार महाधिवेशनस्थल रहेको खुला मञ्चको पश्चिमतर्फ स्वास्थ्य सेवाका लागि हेल्थ डेस्क बनाइएको छ । पाँच वटा कक्ष रहने हेल्थ डेस्कमार्फत सामान्य स्वास्थ्य परीक्षण र आकस्मिक सेवा प्रदान गरिने उनले जानकारी दिए ।
काँग्रेस केन्द्रीय सदस्यसमेत रहेका डा. केसीले हेल्थ डेस्क दुई सिफ्टमा सञ्चालन हुने जानकारी दिए । उहाँका अनुसार डेस्कमा आठ जना चिकित्सक, पारामेडिक्स (आपत्कालीन स्वास्थ्य सेवाकर्मी) तथा नर्सहरू रहनेछन् भने मधुमेह, उच्च रक्तचापको जाँचसहित सिटामोल, जीवनजल, घाउचोटमा प्रयोग हुने औषधिलगायत नि:शुल्क सेवा प्रदान गरिनेछ ।
यसैगरी प्रतिनिधिहरूलाई तत्काल आकस्मिक उपचारका लागि अस्पताल लैजानु पर्ने अवस्था आएमा नजिकैको वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र वसुन्धारामा रहेको बीपी स्मृति अस्पतालमा व्यवस्था मिलाइएको डा. केसीले उल्लेख गरे । त्यसका लागि महाधिवेशनस्थलमा दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ ।
यसैगरी रातिको समयमासमेत स्वास्थ्य सेवा आवश्यक पर्ने भएमा ‘अन कल ड्युटी’को व्यवस्थासमेत गरिएको छ भने होटलमा रहेको अवस्थामा प्रतिनिधिलाई कुनै समस्या परेमा होटलमै पुगेर स्वास्थ्य जाँच गर्ने प्रबन्ध गरिएको डा केसीले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।