काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले स्वदेशी उत्पादनले मात्रै धान्ने अवस्था नरहेकाले नेपालले आयातमा जोड दिनु परेको स्पष्ट पारेका छन्।
अर्थमन्त्री खतिवडाले पूँजी निर्माणका लागि आयात गर्नुपर्ने भएकाले नेपाल जस्तो देशको व्यापार घाटालाई नकारात्मक रुपमा नलिन पनि अन्तराष्ट्रिय दातृ निकायहरूलाई आग्रह गरे।
उत्पादन र अर्थतन्त्रमा गुणात्मक वृद्धि गर्ने वस्तुको आयातबाट आत्तिन नहुने पनि उनले स्मरण गराए।
विश्व बैंक र साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भारोमेन्टले तयार पारेको ‘ए ग्लास हाल्फ फुल’ प्रतिवेदन शुक्रबार राजधानीमा सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन्।
'नेपाल जस्तो देशले अन्तर्राष्ट्रिय बजारमा तुलनात्मक लाभका वस्तुहरू उत्पादन गरेर बजारीकरण गर्नुपर्ने आवश्यकता छ। दक्षिण एसियामा एउटै मुलुकको अर्थतन्त्रको कूल हिस्सा ८० प्रतिशत रहेकाले यस क्षेत्रको व्यापार पारस्पारिक हुन सक्ने अवस्था छैन,' अर्थमन्त्री खतिवडाले भने।
अर्थमन्त्री खतिवडाले नेपालले आर्थिक विकासका लागि पूर्वाधार विकासमा जोड दिएको पनि बताएका थिए। प्रतिवेदनमा नेपालमा व्यापार घाटा बढ्दै गएको उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।