पोखरा- सडकमा रहेका बिजुली, केबुल, टेलिफोन र इन्टरनेटका अव्यवस्थित तारकै कारण दुर्घटनाको जोखिम बढेपछि महानगरले बिहीबारबाट तारजाली हटाउन सुरु गरेको छ।
पोखरा सिद्धार्थ चोकका पोलका अव्यवस्थित तार हटाउँदै महानगरले तार व्यवस्थापनको ४० दिने अभियान सुरु गरेको हो।
पोखरा महानगरका मेयर मानबहादुर जिसीले नेट प्रदायक संस्था वर्ल्डलिंकको तार काट्दै अभियानको सुरुआत गरेका हुन्। उनले अहिलेलाई अव्यवस्थित तार व्यवस्थापन गर्न कोसिस मात्र भएको बताए।
‘सोच त हाम्रो अन्डरग्राउन्ड बनाउने नै हो तर अहिले पोलका अनावश्यक तारमात्रै हटाउन सुरु गरेका छौं,’ उनले भने, 'अहिलेलाई काम नभएका तारलाई हटाउने काम गरेका छौं। यसमा हामीसँग ९ वटा सेवा प्रदायक संस्थाहरु जोडिनुभएको छ।’
उनले तार हटिसकेपछि केही नहुनुभन्दा काम भइरहेको छ भन्ने देखाउने बताए। यसपछि महानगरलाई जानकारी बिना नै तार लगाउने कम्पनीलाई कारबाही गरिने उनको भनाइ छ।

पोखराका अव्यवस्थित तार हटाउन विभिन्न ४ चरणमा काम सुरु गरिएको छ। प्रत्येक ठाउँमा १०/१० दिनको प्याकेज लिएर काम गरिरहको जिसीले जानकारी गराए।
पहिलो चरणमा सिद्धार्थ चोकपछि विपी चोक–न्यूरोड–सभागृह चोकको तार व्यवस्थित गर्ने योजना छ। दोस्रो चरणमा विपी चोक– साँघुको मुख–महेन्द्र पुल– नयाँबजार–पृथ्वीचोक–सभागृहचोक, तेस्रो चरणमा सभागृहचोक–सृजनाचोक–जिरो किमी–हल्लनचोक र चौथो चरणमा हल्लनचोक–सहिदचोक–मुस्ताङ चोकसम्मका पोलका तारलाई व्यवस्थित गरिने मेयर जिसीले जनाए।
केही समयअघि महानगरले तार व्यवस्थापन गर्न सूचना प्रकाशित गरेको थियो। त्यसै सूचनाका आधारमा नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, एनसेलसहित बाराही इन्टरनेट, टेलनेट प्रालि, पोखरा केबल, वर्ल्डलिंक कम्युनिकेसन र पोखरा इन्टरनेट संस्थासँंगको मंगलबार भएको बैठकले तार व्यवस्थापन गर्न सहजीकरण समिति गठन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।