राजविराज– सप्तरीको डाकनेश्वरी नगरपालिका ९ का वडाअध्यक्षले एकल महिलाको परिवारलाई नाकाबन्दी गराएका छन्। वडाध्यक्ष कर्णदेव चौधरीले पत्थरगढाकी ५० वर्षीया सीतादेवी शर्माको परिवारलाई नाकाबन्दी गराएका हुन्।
अध्यक्ष चौधरीकै दबाबमा आफनो ९ जनाको परिवार तीन दिनदेखि घरमै थुनिएर बस्नुपरेको सीतादेवीले बताइन्। उनका २ छोरा शिवचन्द्र र धीरेन्द्र वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा छन्।
आफूसँग रहेका २ बुहारी र ६ नातिनातिना नाकाबन्दीको मारमा परेको उनले गुनासो गरिन्।
‘गाईबस्तु निकाल्न पनि पाएको छैन’ उनले विलौना गर्दै भनिन्, 'आफैले जिताएको मान्छे दुस्मन भएपछि यो अवस्थाबाट हामीलाई कस्ले मुक्त गर्ला?’
चौधरीको निर्देशनमा आफ्नै देवर बिहारी शर्मालगायत छिमेकीहरूले आउजाउको बाटो बन्द गराएको उनको आरोप छ।

देवरसँगको जग्गा विवाद बढ्दै गएपछि गत मंगलबार बोलाइएको पञ्चायतीमा आफूले वडा अध्यक्षको निर्णय नमान्दा नाकाबन्दी खेप्नुपरेको सीतादेवीको भनाइ छ।
‘मेरो नाममा रहेको एक कठ्ठा आठ धुर जग्गामध्ये करिब सात/आठ धुर देवरले भोगचलन गरेका छन्। त्यो समस्या समाधान गर्न मैले गाउँले र प्रहरी पनि गुहारेँ,' उनले आँसु पुछ्दै भनिन्, ‘कसैले वास्ता नगरेपछि अदालतमा मुद्दा दर्ता गराएँ, त्यसैको प्रतिशोध साँध्न चारैतर्फको बाटो बन्द गराइयो।’
एक कठ्ठा आठ धुरमध्ये १४ धुर जग्गा राखेर बाँकी जग्गा बिहारीलाई दिन चौधरीले प्रस्ताव गरेपछि आफूले इन्कार गरेको सीतादेवीले बताइन्।
वडाध्यक्ष चौधरीले भने सीतादेवी र बिहारीको अंश विवाद बढ्दै गएको र निकास निकाल्न नसकिएको बताए। उनले नाकाबन्दीका विषयमा भने कुनै जानकारी नभएको बताए।
प्रहरी चौकी पत्थरगढाका असई भागेश्वर माझीले जग्गा विवादका कारण बिहारीले आफ्नो जग्गामा घेराबेरा गरेर भाउजूको घर जाने बाटो बन्द गराएको पाइएको र प्रहरीको पहलमा नाकाबन्दी हटाइसकेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।