काठमाडौं- पूर्वराष्ट्रपति डा रामवरण यादवले संविधान हतार र गडबडसहित आएको बताएका छन्। संविधान अझ राम्रै होस् भनी संविधानसभाको कार्यकाल बढाइए पनि हतारमा संविधान आएको उनले बताए।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवाद’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै यादवले संविधानमा केही विषय संशोधन गर्नुपर्ने जनाए। उनले भने, ‘संविधान धेरै राम्रो बनेको छ तर केही संशोधन पनि गर्नुपर्नेछ।'
नेपालमा धर्मान्तरमा वृद्धि आएको भन्दै उनले चिन्तासमेत व्यक्त गरे। दलका नेताहरुलाई धर्मान्तरणको क्रम रोक्न छिटोभन्दा छिटो संविधान संसोधन गर्न उनले सुझाव दिएका छन्।
आफू कांग्रेसको कार्यकर्ता नभए पनि कांग्रेस बिग्रेको भन्दै नेताहरुलाई सुध्रिन उनले सुझाव दिए। ‘कांग्रेसले आफ्नै कार्यकर्तालाई दुस्मन देख्छ,’ उनले भने।
बिपी, किसुन, गणेशमानसँग वर्तमान नेताहरुलाई तुलना गर्दै उनले त्यस समयको ऊर्जा कांग्रेसमा हराएको बताए। ५० प्रतिशत जनसंख्या ओगटेको तराईलाई कांग्रेसले उपेक्षा गरेको आरोप लगाउँदै उनले कांग्रेसको प्रमुख आधार तराईमा नै नेताहरुले समय नै नदिएको भन्दै गुनासो गरे।

बाराको निजगढमा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थल र कैलालीको गोदावरीमा स्थानान्तरण गर्न लागिएको राजधानीले तराईको सुक्खा अझै बढ्ने भन्दै उनले चिन्ता व्यक्त गरे। सरकारले योजनामा ल्याएको मदन भण्डारी राजमार्गले समेत चुरेको विनाश हुने खतरा उनले औंल्याए।
जनता प्रकाशनद्वारा बजारमा ल्याइएको पौडेलको पुस्तकमाथि कांग्रेस नेताहरु डा रामशरण महत, प्रदीप गिरिले बहस गरेका थिए। साथै, प्राध्यापक लोकराज बराल, पत्रकार धमेन्द्र झा र नेकपा नेता विजय पौडेलले आफ्नो धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।