राजविराज– तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का ११ जना केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष हतियार बुझाएका छन्।
मोर्चाका संयोजक जयकृष्ण गोइतसँग विद्रोह गरी उपेन्द्र यादव (अभिनास)को नेतृत्वमा सरकारी राजनीतिक वार्ता समिति समक्ष उनीहरुले हतियार बुझाएका हुन्। गत असोज ६ गते सिरहाको लहानमा भएको पहिलो चरणको वार्तामा ६ बुँदे सहमतिपछि उनीहरु हतियार बुझाउन सहमत भएका थिए।
मोर्चाका नेता÷कार्यकर्ता माथि लागेको मुद्दा फिर्ता, जेलमा रहेकालाई रिहाइ, मधेशी युवाहरुलाई सेना÷प्रहरीमा भर्ती, मोर्चाका कार्यकर्तालाई जिविकाका लागि रोजगारीको अवसरलगायतका ११ बुँदे मागमा छलफल गरी ६ बुँदे सहमति भएको थियो। मोर्चाले राखेका अधिकांश माग पुरा गर्न सकिने खालका रहेको वार्ता टोलीले जनाएको छ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको निवासमा बुधबार आयोजित औपचारिक कार्यक्रममा मोर्चाले सानो नलकटुवा पेस्तोल १० थान, लामो नलकटुवा पेस्तोल १ थान, कटुवा १ थान, डिटोनेटर १ थान गरी जम्मा १३ थान हतियार बुझाएको राजनीतिक वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डेले जानकारी दिए।
हतियार बुझाएसँगै मोर्चाका ११ जना केन्द्रीय सदस्यहरु शान्तिपूर्ण राजनीतिमा फर्किएको सरकारी वार्ता टोलीका संयोजक पाण्डेले बताए।

मोर्चाका संयोजक अभिनाससँगै नथुरी यादव (प्रदीप), सप्तरीको डाकनेश्वरी नगरपालिकाका रामउद्गार साह (रोशन), सिरहाको गोलबजारका योगेन्द्र यादव (कमल), सप्तरीको प्रसवनीका भवानी प्रसाद मगरिया यादव (भगत सिंह), सिरहाको मिर्चैयाका बद्रि यादव, सप्तरीको रुपनी गाउँपालिकाका मोहम्मद सफिद (राहुल), कञ्चनरुप नगरपालिकाका देवेन्द्र खडगा (सञ्जय), सिरहाको विष्णुपुरका सञ्जयकुमार यादव (शंकर) लगायत ११ जना शान्तिपुर्ण राजनितिमा आएका हुन्।
मोर्चाका १५ जना केन्द्रीय सदस्यको बैठक बसेर सरकारसँग वार्ता गर्ने सहमति भएपनि संयोजक गोइतले वार्तामा नबस्ने अडान लिएपछि आफूहरुले गत जेठ २ गते विद्रोह गरेर छुट्टै मोर्चा बनाएको र सोही समूहमार्फत हतियार बुझाएको उनको भनाइ छ। पहिलो चरणमा केन्द्रीय सदस्यहरु मात्र उपस्थित भएपछि दोश्रो चरणमा वार्ताका माध्यमबाट करीब ४५ जना कायकर्ता पनि सार्वजनिक हुने उनले जानकारी दिए।
‘अब गोइतसँग वार्ता गर्नुपर्दैन’
सरकारी वार्ता टोलीका संयोजक पाण्डेले अविनाशसहितका अधिकांश नेताले हतियार बुझाई सकेपछि गोइतसँग वार्ता गर्नुपर्ने अवस्था समेत नरहेको जिकिर गरे। सप्तरीमा ३ वटा सशस्त्र समूहसँग वार्ता भइरहेको र जम्मा ५ वटा समूहले तत्कालै हतियार बुझाउने तयारी भइरहेको उनको भनाइ छ।
विभिन्न समयमा सकृय रहेका जम्मा ४८ वटा ससस्त्र समूहमध्ये संविधानसभा निर्वाचन ताका आनन्द प्रसाद ढुङ्गाना नेतृत्वको सरकारी वार्ता टोलीले २५ समूहसँग वार्ता गरेको थियो। वार्तापश्चात् सशस्त्र समूहले हतियारसमेत बुझाई सकेकाले बाँकी रहेका समूहसँग आफूहरुले वार्ता गरिरहेको संयोजक पाण्डले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।