राजविराज– गत असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने कानुनी व्यवस्था भएपनि सप्तरीका ५ वटा स्थानीय तहले हालसम्म पनि बजेट ल्याउन सकेका छैनन्।
जनप्रतिनिधिहरुका बीचमा देखिएको विवाद र समन्वय अभावका कारण गाउँसभा र बजेट ल्याउन ढिलाइ भएको हो। तोकिएको समायावधि सकिएको ५ महिनाभन्दा बढी समय बितिसक्दा पनि ५ स्थानीय तहमा गाउँसभा बस्ने र बजेट सार्वजनिक गर्ने विषय अझै पनि निश्चित हुन सकेको छैन।
सप्तरीका तिरहुत, महादेवा, छिन्नमस्ता, राजगढ र वलान–विहुल गाउँपालिकाले हालसम्म पनि गाउँसभा र बजेट सार्वजनिक गर्न सकेका छैनन्। अन्तर सरकारी वित्त व्यवस्थापन ऐनको दफा २१ मा स्थानीय तहले असार १० गतेभित्र आगामी वर्षका लागि नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ। ९ नगरपालिकासहित १८ वटा स्थानीय तह रहेको सप्तरीका अन्य स्थानीय तहले भने समयमै नगर/गाउँ सभा सम्पन्न गरेका छन्।
गाउँपालिकाको केन्द्र विवाद, जनप्रतिनिधिहरुमै मतभिन्नता, योजना छनौट तथा कतिपय कृयाकलापमा नेतृत्वको मनपरीलगायतका कारण गाउँसभा र बजेटको विषय अन्योलमा परेको जनप्रतिनिधिहरु नै बताउँछन्। समयमा गाउँसभा सम्पन्न नहुँदा चालू आर्थिक वर्षको योजना छनोट समेत हुन सकेको छैन। करिब दुई दशकपछि स्थानीय तहले जनप्रतिनिधि पाएपनि वाचा गरेअनुसार काम नहुँदा सर्वसाधारण भने निरास छन्।
‘साथीहरुकै मन नमिलेर समयमा गाउँसभा हुन सकेन’, वलान विहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले भने, ‘अब कुरा मिलेको छ, एक/दुई दिनभित्र सबै काम सकिन्छ।’
गाउँपालिकाको केन्द्र निर्धारण लगायतका विषयमा जनप्रतिनिधिकै बीचमा असन्तुष्टि रहेका बेला गाउँसभाको आयोजना र बजेट सार्वजनिक गर्दा अझ तिक्तता आउन सक्ने भएकाले अलिकति समय लगाएर सहमति जुटाउने प्रयास गरिएको उनले बताए।
महदेवा गाउँपालिकाका अध्यक्ष दिपककुमार यादवले भने पुस १९ गतेका लागि गाउँसभा निर्धारण गरिएको जानकारी दिए। महदेवा गाउँपालिकामा पनि केन्द्र निर्धारणको विषय विवादमा पर्दै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।