जनकपुर– विवाह पञ्चमीको मुख्य आकर्षण मानिने जानकी मन्दिरमा दिउँसो २ बजेसम्मका लागि सर्वसाधारणहरुलाई प्रवेश निषेध गरिएको छ।
भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको आगमन र पूजाआजालाई ध्यान दिँदै मन्दिर प्रशासनले सर्वसाधारणलाई मन्दिर परिसरमा प्रवेश निषेध गरेको छ। आदित्यनाथको सुरक्षा संवेदनशीलताका कारण सर्वसाधारणहरुको आवतजावत बन्द गरिएको हो।
धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले विशिष्ट अतिथि र भिआइपी आगमनको कारण सुरक्षा चुनौति देखाउँदै जानकी मन्दिर परिसर खाली गराइएको बताएका छन्।
बिहान ९ बजेदेखि लगाइएको निषेध दिउँसो २ बजेसम्म कायम रहने छ। जानकी मन्दिरमा पूजा गर्न आउने सर्वसाधारणको भीड उल्लेख्य भए पनि ५ घण्टासम्म मन्दिर परिसर खालिप्रायः हुनेछ।

जानकी मन्दिरलाई यस वर्ष विशेष प्रकारले सजाइएको छ। तर, पछिल्ला वर्षहरुमा श्रद्धालु भक्तजनहरुका कारण घुँइचो हुने गरेको भए पनि यस वर्ष भने सर्वसाधारणलाई प्रवेश निषेध गरेकै कारण सुनसान देखिएको छ।
सञ्चारकर्मी, सुरक्षाकर्मी र मन्दिर कर्मचारीलाई भने मन्दिर परिसरमा जान रोक लगाइएको छैन।
नेपाल र भारतका विभिन्न ठाउँसहित तेश्रो मुलुकबाट समेत दर्शनका लागि जानकी मन्दिर आइपुगेका श्रद्धालुहरुलाई गरिएको प्रवेश निषेधले गर्दा हैरानी खेप्नुपरेको छ। उनीहरु मन्दिर परिसर बाहिरै रोकिनुपरेको छ। यसअघिका वर्षहरूमा सहजताका साथ मन्दिर दर्शन तथा पूजापाठ गरेका दर्शनार्थी यसपटक घण्टौँदेखि मन्दिर बाहिर रोकिनुपर्दा दुःख व्यक्त गरेका छन्।
एक व्यक्तिको सुरक्षाका कारण हजारौंले पाएको हैरानका कारण कतिपयले आक्रोश व्यक्त गरेका छन्। उनीहरुले सरकार विवाह महोत्सवको व्यवस्थापनमा भन्दा पनि योगीको सत्कारमा व्यस्त देखिएको टिप्पणी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।