उर्लाबारी- नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले वर्तमान सरकारले देशलाई समृद्धितर्फ डोर्याउन नसक्ने बताएका छन्।
नेपाली काँग्रेस उर्लाबारी नगर समितिले आज दुर्गापुरीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेता थापाले सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको संकट र प्रधानमन्त्री केपी ओलीको क्षमता नभएका कारण देश समृद्धितर्फ नजाने बताएका हुन्।
सरकार बनाउने लोभले एमाले र माओवादीबीच एकीकरण भएको आरोप लगाउँदै पूर्व स्थास्थ्यमन्त्री समेत रहेका थापाले दुई पार्टीका नेताबीचको झगडा विस्तारै अघि बढ्ने समेत बताए।
वर्तमान प्रधानमन्त्री ओली इतिहासकै सबैभन्दा बलियो प्रधानमन्त्री भएको बताउँदै उनले बलियो सरकार भएपनि बरालिएको आरोप लगाए।
'सरकारको आलोचना गर्नुभन्दा पनि अबको चार वर्ष पार्टी संगठन सुदृढीकरण गर्दै जनताको मन जितेर आगामी निर्वाचनमा विजय हुने गरी काँग्रेस अघि बढ्छ,' उनले भने।
आमसभामा काँग्रेस मोरङ क्षेत्र नं. १ का सभापति खड्ग फागोले कम्युनिष्ट पार्टी सर्वहारा वर्गको नभएको बताएका थिए।
अहिलेको कम्युनिष्ट पार्टी सर्वहारा वर्गको नभएको बताएका फागोले भने, 'कम्युनिष्ट पार्टी साच्चै कम्युनिष्ट बन्यो भने म पनि कम्युनिष्ट पार्टीमा प्रवेश गर्न तयार छु।'
आमसभामा विभिन्न पार्टी परित्याग गरी दुई दर्जन बढी काँग्रेस प्रवेश गरेका थिए। आमसभा नगर सभापति वीरबल थापाको अध्यक्षतामा सम्पन्न भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।