काठमाडौं– निर्मलाका निम्ति न्याय अभियान अन्तर्गत त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको एक समूहले हस्ताक्षर अभियान सुरु गरेका छन्।
मंगलबारदेखि सुरु भएको हस्ताक्षर अभियान काठमाडौंका प्रमुख क्याम्पसहरुमा पनि बिस्तार गरिने उनीहरुले जनाएका छन्। उनीहरुले कपडामा हस्ताक्षर संकलन गरेका हुन्। संकलित हस्ताक्षर संयुक्त राष्ट्रसंघमा बुझाइने अभियानकर्ता संघर्ष दाहालले जानकारी दिए।

मंगलबार केन्द्रीय क्याम्पसमा २५ सय विद्यार्थीहरुले हस्ताक्षर गरेको दाहालले बताए। भोलि आरआर क्याम्पस, ल, त्रिचन्द्र तथा शंकरदेवमा पनि हस्ताक्षर अभियान चलाइने उनले बताए।
'राज्यले ४ महिना बितिसक्दा पनि प्रभावकारी अनुसन्धान गरी दोषी पत्ता लगाउन नसकेकाले यस्तो अभियान सुरु गरेका हौं', दाहालले भने, 'राष्ट्रसंघले नै छानबिन गरी अपराधी पत्ता लगाउनुपर्ने निष्कर्ष सहित हामीले यस्तो अभियान सुरु गरेका हौं।'
गत साउन १० गते बेपत्ता भएकी कञ्चनपुरकी निर्मला पन्तको ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। उनको न्यायको लागि भन्दै त्यसयता संघर्ष भइरहे पनि दोषी पत्ता लाग्न सकेको छैन।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।