काठमाडौं– उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उर्जा प्रवर्द्धकसँग ‘टेक अर पे’ मा विद्युत खरिद सम्झौता गर्ने निर्णय गरेको छ। उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
गत २५ बैसाखमा मन्त्री पुनले जारी गरेको स्वेतपत्रले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको थियो। सोही निर्णयलाई सघाउनेगरी यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ।
स्वेतपत्रकै आधारमा ५ हजार २ सय ५० मेगावाटसम्म ‘रन अफ रिभर’ प्रकृतिका आयोजनाको ‘टेक अर पे’ मा विद्युत खरिद सम्झौता गर्ने निर्णय गरिएको हो।
यसअघि नेपाल विद्युत प्राधिकरणले ‘टेक एन्ड पे’ मा विद्युत खरिद गर्ने निर्णय गरेकामा उक्त सम्झौता संशोधन गर्न पनि मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिएको छ।
बैठकले ४ हजार ५ सय मेगावाटसम्मका ‘पिकिङ रन अफ रिभर’ प्रकृतिका आयोजनाको विद्युत खरिद सम्झौता पनि ‘टेक अर पे’ मा नै गर्न भनेको छ।
निजी ऊर्जा प्रवर्द्धकले लामो समयदेखि ‘टेक अर पे’ मा विद्युत खरिद सम्झौता गर्न माग गर्दै आएका थिए। उक्त विधिबाट सम्झौता गर्दा प्राधिकरणलाई कुनै घाटा भए त्यसको सोधभर्नाका लागि सरकारसँग माग गर्ने स्वीकृति पनि बैठकले दिएको छ।
‘टेक अर पे’ मा सम्झौताको प्रावधान राखिएपछि निजी उर्जा प्रवर्द्धकलाई विद्युत आयोजना निर्माणका लागि सहजै ऋण प्राप्त गर्नसक्ने र लक्षित उद्देश्य हासिल गर्न पनि सहज हुने विश्वास मन्त्रालयको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।