सांकेतिक तस्बिर
जनकपुर- भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउनु एक दिनअघि नै भारतीय विमानले जनकपुरमा टेस्ट फ्लाइट (परीक्षण उडान) गरेको छ।
मंगलबार बिहान उत्तर प्रदेशको राजधानी लखनउबाट उडेको भारतीय विमान जनकपुर विमानस्थलमा बिहान १०:१९ मिनेटमा अवतरण भएको थियो।
बिई २० टाइपको भारतीय कम्पनीमा दर्ता भएको विमान नेपालमा अवतरण भएको केही समयपछि फेरि लखनउ फर्किएको जनकपुर विमानस्थलका प्रमुख सन्तोष ढकालले जानकारी दिए।
जनकपुरमा अवतरण गरेको उक्त विमान ११:५० मा पुनः लखनउका लागि प्रस्थान गरेको थियो।
नेपालको रोयल हिमालयन ट्रेक्स कम्पनीले उक्त भारतीय विमान चार्टर गरेको ढकालले बताए। तीन जना चालक दलसहित आएको उक्त विमानका चालक दलले रन-वेको लम्बाइ, ले आउटसँगै अन्य जानकारी लिएको ढकालले बताए। ‘उहाँहरू हाम्रो व्यवस्थापनबाट पूर्ण रूपले सन्तुष्ट भएर फर्किनुभएको छ,’ उनले भने।
नर्मल रुट गल्फ ३३५ बाट उडान भरेको उक्त विमान करिब १ घन्टाको समयमा लखनउबाट जनकपुर आइपुगेको थियो।
‘भोलि त्यही विमानबाट एक जना इन्जिनियर सहित चार जना चालक दल र मुख्यमन्त्री योगीसहित ५ जना प्रतिनिधि मण्डल आउने जानकारी हामीले प्राप्त गरेका छौं,’ विमानस्थल प्रमुख ढकालले भने, ‘भोलि त्यही समयमा सामान्य हेरफेर गरेर विमान जनकपुर आइपुग्नेछ।’
भोलि उक्त विमान आउँदा जनकपुरको बुद्ध र यती एयरलाइन्सको नियमित विमानको समय हेरफेर हुनेसमेत उनले जानकारी गराए।
विगतमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा उनलाई भिभिआइपी भनिएको थियो भने योगीलाई भिआइपी भनेर नेपाल सरकारद्वारा पत्राचार गरिएको ढकालले जानकारी दिए।
नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आज र भोलिको लागि उक्त विमान कम्पनीले उडानको अनुमति लिएर नै उडान भरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।