काठमाडौं- सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट सुवर्ण अवालेको उडान अनुमति पत्र (लाइसेन्स) निलम्बन गर्ने निर्णयको सक्कल प्रति अदालतमा पेस गर्न आदेश गरेको छ। विदेशी मुद्रा अपचलनको आरोप लागेका अवालेका सम्बन्धमा गरिएको निर्णय अदालतमा पेश गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका नाममा आदेश जारी गरेको छ।
प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले अवालेको लाइसेन्स निलम्बन गर्ने प्राधिकरणको निर्णयको फाइल मगाउने आदेश गरेको हो।
विदेशी मुद्राको अवैध ओसारपसार गरेको आरोप लागेपछि गत साउनमा पाइलट अवालेलाई जहाज उडानमा रोक लगाउने निर्णय प्राधिकरणले गरेको थियो।
प्राधिकरणको निर्णयको विरोधमा अवाले २०७५ असोज २२ गते सर्वोच्च पुगेका थिए।
प्राधिकरणले कानुनविपरीत उडान अनुमति पत्र नै खारेज हुने गरी निर्णय गरेको भन्दै अवालेले सर्वोच्चमा रिट दायर गरेका थिए। उनको रिटमा पहिलो सुनुवाई गर्दै प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले नै अन्तरकालीन आदेश जारी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।