काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सञ्चार माध्यमहरु गैरजिम्मेवार बन्दै गएको भन्दै समग्र सञ्चारक्षेत्रको चर्को आलोचना गरेका छन्।
सोमबार राजधानीमा प्रेस काउन्सिलद्वारा आयाजित राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा मन्त्री बास्कोटाले सञ्चार क्षेत्रले सरकारका प्रत्येक क्रियाकलापको नकारात्मक टिप्पणी गर्ने गरेको भन्दै आक्रोश पोखेका हुन्। सञ्चार माध्यममा ‘सरकारले भ्रष्टाचारीलाई नियन्त्रणमा लिए भ्रष्टाचार बढ्यो भन्दै टिप्पणी गर्ने तथा बलात्कारीलाई नियन्त्रणमा लिए नक्कली’ भन्ने गरेको भन्दै उनले रोष प्रकट गरे।
उनले सरकारका हरेक क्रियाकलाप नक्कली हुन् भन्ने मानसिकता फैलाउने उद्देश्यले समाचार सम्प्रेषण हुने गरेको भन्दै जिम्मेवार बन्न सञ्चार क्षेत्रलाई आग्रह पनि गरे। उनले भने, ‘सरकारले जे गर्छ, त्यो चाहीं सबै नक्कली हो। अरुले जे गर्छन् त्यो मात्रै सक्कली हो?’, मन्त्री बाँस्कोटाले प्रश्न गरे, ‘त्यसोभए सक्कली र अपराधी कहाँ छ त? लेख्दिने पनि वा त्यस्तो गर्ने पनि बताइदिनु पर्यो नि? उसलाई खोज्न जानुपर्यो। सक्कली को हो देखाइदिनुपर्यो नि?’
मन्त्री बाँस्कोटाले सञ्चारकर्मीका लागि सरकारले निर्धारण गरेको न्युनतम पारिश्रमिक लागू गर्न अझै पनि सञ्चार गृहहरु इमानदार नभएको भन्दै श्रमलाई व्यवस्थित र वैज्ञानिक बनाउन आग्रह गरे।
कार्यक्रममा अनलाइन खबर डट कमका सम्पादक अरुण बराल र नयाँ पत्रिका दैनिकका सम्पादक कृष्ण ज्वाला देवकोटालाई प्रेस काउन्सिल राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको थियो। पुरस्कारको राशी जनही २/२ लाख रुपैयाँ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।