काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले अहिलेको सरकारको दिनगन्ति सुरु भएको दाबी गरेका छन्। गृह जिल्ला कालिकोटको माल्कोटमा भएको जनसभालाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले अहिलेको सरकार ५ वर्ष चल्ने स्थायी सरकार भनिएपनि १ वर्ष नपुग्दै दिनगन्ती सुरु भएको बताएका हुन्।
प्रकाण्डले भने, ‘अहिलेको सरकार ५ वर्ष चल्ने स्थायी सरकार भनिएको छ, तर, एक वर्ष नपुग्दै दिनगन्ति सुरु भइसकेको छ। अब यसको विकल्प वैज्ञानिक समाजवाद मात्रै हुनेछ।’
वर्तमान सरकार विगतमा कांग्रेसको सरकार भन्दा पनि भ्रष्ट बनेको र जनताले कुनै अपेक्षा नराखेको उनको टिप्पणी थियो। प्रकाण्डले आफ्नो बलिदानी भएपनि जनताको मुक्तिका लागि आफ्नो पार्टी सधैं लडिरहने प्रतिबद्धता जनाए।
एक अर्को प्रसङ्गमा प्रकाण्डले दश वर्षे जनयुद्धमा सिङ्गो कर्णाली र कालिकोटका जनताले गरेको योगदानको स्मरण गर्दै जनयुद्धको नेतृत्व गर्नेहरूले दिएको धोका र गलत सम्झौताले जनयुद्धका सपना पुरा नभएको जिकिर गरे। उनले कम्युनिस्ट सरकारले आफूहरुले उठाएका न्यायपूर्ण मागउपर हस्तक्षेप गरेको भन्दै जनतालाई सरकारको प्रतिरोधमा उत्रन आग्रह गरे।
प्रवक्ता प्रकाण्डले सहिदका सपना बेचेर खानेहरुका विरुद्ध एकपटक फेरि सर्घष गर्नुपर्ने बेला आएको बताए। ‘अन्तिम क्रान्तिको लागि अब तपाईंहरुको साथ चाहिएको छ, तयारी अवस्थामा बस्नुहोला।’, उनले भने।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय समिति सदस्य एवम् कर्णाली व्युरो इन्चार्ज ‘एटम’ले ‘गाउँ–गाउँमा सिँहदरबार होइन’ भष्ट्र र काम चोरहरु आएको बताए। स्थानीय चुनावमा नेपाली जनतालाई देखाइएका झुटा सपना १ वर्ष नहुँदै नाङ्गिएको आरोप लगाउँदै ‘एटम’ले अहिलेको सरकार र स्थानीय तह कसरी कमाउन सकिन्छ भन्ने ध्याउन्नमा लागेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।