काठमाडौं– नेपाली कांग्रेसको आगामी महासमिति बैठकमा पेस हुने आर्थिक प्रतिवेदन पारित भएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको समितिले पेस गरेको आर्थिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको हो। पूर्व अर्थमन्त्रीहरु डा रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्कीलगायतका नेताहरुले दिएको सुझावलाई समेत समेटेर सो प्रतिवेदन परिमार्जनसहित पारित गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
कांग्रेसले पारित गरेको सो आर्थिक प्रतिवेदनमा केपी शर्मा ओली नेतृत्वको सरकारले लिएको आर्थिक नीतिबाट मुलुकलाई समृद्ध बनाउन नसकिने दाबी गरिएको छ। त्यसैगरी प्रतिवेदनमा उत्पादनमा जोड दिएर गरिब जनताको पक्षमा आर्थिक पहुँचको विकास गर्नुपर्ने उल्लेख गरिएको छ। सरकारको निषेध र नियन्त्रणमुखि अर्थनीतिका कारण मुलुकमा वैदेशिक लगानी गत वर्ष भन्दा ७५ प्रतिशत घटेको तथा आन्तरिक लगानी पनि पलायन हुने क्रम बढेको कांग्रेसको निष्कर्ष छ।
आगामी मंसीर २८ गतेदेखि सुरु हुने पार्टीको महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदनहरु पारित गर्न कांग्रेस केन्द्रिय कार्यसमिति बैठक जारी छ। भोलि(मंगलबार) बस्ने केन्द्रीय कार्यसमिति बैठकमा भने राजनीतिक प्रतिवेदन पेस हुनेछ। पार्टीका उपसभापति विमलेन्द्र निधी नेतृत्वको समितिले मंगलबारको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्नेछ। सो प्रतिवेदनमाथि भोलि नै छलफल गरेर टुंगो लगाउने कार्यसूची पनि तय गरिएको पार्टीका प्रवक्ता शर्माले बताए।
यसअघि पेस गरिएको विधान संशोधन मस्यौदा प्रतिवेदनमाथि कांग्रेस केन्द्रीय कार्यसमितिमा छलफल भइसकेको छ। सो प्रतिवेदनलाई केन्द्रीय सदस्यहरुले दिएको सुझावको आधारमा अन्तिम रुप दिने काम भइरहेको पनि कांग्रेसले जनाएको छ।
कांग्रेसले महासमिति बैठकमा सांगठनिक प्रतिवेदन पनि पेस गर्नेछ। सो प्रतिवेदन पनि छिट्टै केन्द्रीय कार्यसमिति बैठकमा पेस हुने प्रवक्ता शर्माले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।