काठमाडौं– भ्रष्टाचारको आरोपमा छानबिन गरी मुद्दा दायर गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई महिनाको बीचमा दुई शक्तिशाली निर्माण कम्पनी (ठेकेदार) विरुद्ध मुद्दा दायर गरेको छ।
‘साना माछा’ मात्रै समातेर ठूलालाई उन्मुक्ति दिएको आरोप खेप्दै आएको अख्तियारले निर्माण क्षेत्रमा बदनामी कमाएका दुई ठेकेदारविरुद्ध मुद्दा दायर गरेको हो।
गत १९ असोजमा मात्र अख्तियारले निर्माण क्षेत्रमा निकै शक्तिशाली मानिएको पप्पु कन्स्ट्रक्सनविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्यो। उक्त दिन अख्तियारले पप्पुविरुद्ध ३८ करोड ३४ लाख रुपैयाँको मुद्दा दायर गरेको थियो। पप्पुका अध्यक्ष सुमित रौनियार र उनका बुबा तथा कम्पनीका तत्कालिन अध्यक्ष हरिनारायणप्रसाद साह रौनियारविरुद्ध जनही १९ करोड ३२ लाख रुपैयाँको बिगो दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको थियो। उक्त अनियमिततामा कुल ९० करोड रुपैयाँको बिगो कायम गरिएको छ।
त्यसको दुई महिनापछि नै अख्तियारले अर्को शक्तिशाली ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनविरुद्ध २ अर्ब १३ करोड रुपैयाँ बिगो कायम गरेर अदालतमा मुद्दा दायर गरेको छ। यो अनियमिततामा कुल बिगो करिब साढे ८ अर्ब रुपैयाँ कायम गरिएको छ। कन्स्ट्रक्सनका प्रमुख विक्रम पाण्डे हुन्।
यस्तो थियो पप्पुको मुद्दा
डिभिजन सडक कार्यालय नेपालगञ्ज र पप्पु कन्स्ट्रक्सन बीच २२ असार २०६८ मा पुल निर्माणको सम्झौता भयो। जसअनुसार पप्पुले बर्दिया सदरमुकाम गुलेरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माण थाल्यो।
तर, पुल निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग भएको भन्दै पप्पुविरुद्ध अख्तियारमा उजुरी पर्यो। पुल बनाउँदादेखि नै बांगो देखिएको र उद्घाटन नहुँदै भत्किएको उजुरी परेपछि अख्तियारले यस सम्बन्धमा विस्तृत अनुसन्धान थालेको थियो।
‘लाइन लेभल’ तथा ‘पायर हाइट’मा त्रुटी गरेको, हचुवाको भरमा ‘फिल्ड’को नापजाँच गरेको, ‘स्पेसिफिकेसन’अनुसार काम नभएको, न्यून तथा गुणस्तरहीन सामग्री प्रयोग गरेको, ‘पाइल’को ‘डेप्थ’ डिजाइन बमोजिम नभएको, निर्माण भएको ‘पाइल’मा समेत ‘क्याभिटी’ भएका कारण ‘पाइल’ले लोड धान्न नसकी पुल भास्सिएको दाबी अख्तियारले गर्यो।
यस्तो कार्यमा निर्माण व्यवसायी तथा निर्माण अवधिमा संलग्न सम्पूर्ण प्राविधिक कर्मचारीको मिलेमतोको पुष्टी भएको ठहरसहित अख्तियारले १२ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
यस्तो छ पाण्डेविरुद्धको मुद्दा
सिक्टा सिँचाइ आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेको छ। उक्त आयोजनाको मुल नहर निर्माणको ठेक्का ‘सिटिसिई’सँगको सहकार्य (जेभी) मा पाण्डे प्रमुख रहेको कालिका कन्स्ट्रक्सने पाएको थियो।
‘हालसम्म यस आयोजनाअन्तर्गत सो खण्डको निर्माणमा भएको लगानी प्रायः शून्य रहेको अवस्था प्रमाणित हुन आयो,’ आयोजना निर्माण कार्यमा भएको अनियमितताका सम्बन्धमा दायर मुद्दाको आरोपपत्रमा अख्तियारले भनेको छ, ‘आयोजनाले निर्माण गरेको उक्त प्याकेजको नहरलाई चलायमान बनाउन लागत बराबरको खर्चले पनि पुग्ने हो होइन भन्ने अनुमान नै गर्न नसकिने स्थितिमा रहेको अवस्था समेत देखिन आयो।’
बाँके जिल्लामा निर्माणका क्रममा रहेको आयोजनाको मुल नहरको डिजाइनमा नै त्रुटी रहेको, गुणस्तरीय कार्य हुन नसकेको र एक पटक परीक्षणका क्रममै नहर भत्किसकेकोमा पुनर्परीक्षण समेतनगरी निर्माण व्यवसायीलाई उन्मुक्ति दिएको लगायतका उजुरी अख्तियारमा परेको थियो।
विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बिनानै निर्माण थालिएको, गलत डिजाइन गरिएको, न्यून तथा गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरिएको दाबी अख्तियारको छ।
सुरु भए शक्तिशाली ठेकेदारका ‘दूर्दिन’
पप्पुका तत्कालीन अध्यक्ष रौनियार हाल सांसद हुन्। उनी पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय समाजवादी फोरम, नेपालका सांसद हुन्। अख्तियारले मुद्दा दायर गरेपछि हाल उनी निलम्बित भइसकेका छन्। ठेक्का र पैसाकै बलमा उनी सांसद बन्न सफल भएका थिए।
त्यस्तै, पाण्डे पूर्व वनमन्त्री हुन्। गत मंसिरमा भएको संघीय चुनावमा उनी हाल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चुनावी प्रतिस्पर्धी थिए। चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडेका उनलाई नेपाली कंग्रेसले सघाए पनि पराजित भएका थिए।
रौनियार र पाण्डे दुवै ‘क’ वर्गका निर्माण व्यवसायी हुन्। जसले वर्षेनी अर्बौं रुपैयाँको ठेक्का पार्छन्।
कम छैनन् कर्मचारी पनि
दुबै मुद्दामा ठूलो मात्रामा कर्मचारीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ।
सिक्टा अनियमितता काण्डमा अख्तियारले चार आयोजना प्रमुखसहित १६ कर्मचारीविरुद्ध पनि मुद्दा दायर गरेको छ। जसमा ९ जना सिनियर डिभिजनल इन्जिनियरसमेत छन्। ती कर्मचारीविरुद्धको विगो रकम नै करिब ४ अर्ब रुपैयाँ छ।
त्यस्तै, बबई पुल निर्माण अनियमिततामा ३ जना तत्कालीन डिभिजन प्रमुखसहित ९ जना कर्मचारी मुछिएका थिए। उनीहरू विरुद्धकै बिगो रकम करिब साढे ५१ करोड रुपैयाँ छ।
अख्तियारको निसानीमा ठेकेदार
लामो समयदेखि अख्तियारमाथि ‘साना माछा’ मात्रै समातेको आरोप लाग्दै आएको छ। विगत केही समयदेखि भने अख्तियारले ‘ठूला माछा’ पनि समाउन थालेको हो प्रतित हुन्छ।
स–साना अनियमितताका मुद्दामा मात्र मुद्दा चलाएको आरोप लागेको अख्तियारले यी दुई मुद्दामा मात्रै झन्डै साढे ९ अर्ब रुपैयाँको विगो दाबीसहितको मुद्दा विशेष अदालतमा दायर गरेको छ।
वर्षौं बितिसक्दा पनि विकास आयोजना सम्पन्न नहुने तर त्यसमा संलग्न ठेकेदार र उत्तरदायी सरकारी अधिकारीमाथि कुनै कारबाही नहुने प्रवृत्ति मौलाइरहेका बेला अख्तियारले त्यसतिर आफ्नो निसाना सोझ्याएको छ।
याे पनि पढ्नुस्:
सिक्टा सिँचाइ आयोजना अनियमितता : पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध साढे ८ अर्बको भ्रष्टाचार मुद्दा
सिक्टा सिँचाइ आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन नै त्रुटिपूर्ण : छानबिन समिति
संसदकाे कृषि समितिले सिक्टा सिँचाइ आयोजनाको स्थलगत अनुगमन गर्ने
पप्पु कन्सट्रक्सन : सांसद हरिनारायण र छोरा सुमितसहित १२ जनाविरुद्ध मुद्दा
पप्पुका रौनियार निलम्बनमा, सभामुखले प्रक्रिया अघि बढाउने
सांसदहरुको प्रश्न– काम नगर्ने पप्पुलाई किन दिइन्छ पटकपटक ठेक्का?
पप्पु कम्पनी कालो सूचीमा
पप्पु कन्सट्रक्सनका अध्यक्ष रौनियारलाई पक्राउ पूर्जी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।