काठमाडौं– सरकारले गत मंसिर ११ देखि सञ्चालनमा ल्याएकाे योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १ सय ९६ वटा रोजगारदाता कम्पनी सूचीकृत भएका छन्। दुई साताको अवधिमा उक्त कोषमा सूचीकृत हुने कम्पनीबारे कोषले शुक्रबार पत्रकार सम्मलेन गरी जानकारी गराएको हो।
कोषले सञ्चालनमा ल्याएका स्किममा रोजगारदाता कम्पनीको उत्साहजनक सहभागिता रहेको कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले जानकारी दिए।
सरकारले कोषको कार्यक्रम नयाँ भएकाले विस्तारै सुधार्दै र नयाँ योजना थप गर्दै लगिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा नारायण रेग्मीले बताए।
कोषले रोजगारदातालाई सूचीकरण गर्न ३ महिनाको समय दिएको छ।
कोषमा योगदान गर्ने श्रमिकलाई औषधोपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्धावस्थामा सुरक्षा लगायतका विषय जोडिएका छन्।
कोषको कार्यक्रम सुरु भएसँगै निजी क्षेत्रका श्रमिकले उपदान पाउने व्यवस्था लागू हुनेछ। यस्तै, बिरामी हुँदा उपचार सुविधा पनि कोषमार्फत प्रदान गरिने मन्त्रालयले जनाएको छ। यस्तो सुविधा प्राप्त गर्न कम्तीमा ६ महिना रोजगारी गरी कोषमा योगदान गरेको हुनुपर्ने व्यवस्था छ।
योगदानमा आधारित सामाजिक सुरक्षा भएका कारण योगदान नगरेकाले यो सुविधा पाउँदैनन्। यसका लागि रोजगारदाताले आफ्नो कम्पनीमा काम गर्ने श्रमिकको मासिक तलबको २० प्रतिशत, श्रमिकले १० प्रतिशत र सरकारको १ प्रतिशत गरी ३१ प्रतिशत कोषमा योगदान गर्नुपर्ने व्यवस्था गरिएको छ।
रोजगारी दिलाउँदै आएका प्रतिष्ठानहरूमा सरकारले श्रम ‘अडिट’ गर्नैपर्ने बाध्यकारी व्यवस्था लागू गर्ने भएको छ। विद्यमान श्रम ऐनको प्रभावकारी कार्यान्वयन भए नभएको निरीक्षण, अनुगमन र नियमनका लागि भन्दै सरकारले यस्तो व्यवस्था लागू गर्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।