जनकपुर– नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत हजारी जनक विद्यापीठको करोडौंको जग्गा कीर्ते गरेर बेचेको आरोपमा रत्नसागर मठका महन्त बैकुण्ठ दास पक्राउ परेका छन्। जग्गा कीर्ते तथा जालसाँजी मुद्दामा अदालतले पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका दासलाई पक्राउ गरिएको हो।
दासलाई काठमाडौंको बागबजार क्षेत्रबाट पक्राउ गरिएको दुई नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी हरिबहादुर पालले जानकारी दिए।
दासले नक्कली लालपुर्जा बनाएर जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित बसहिया निवासी अशोककुमार शर्मालाई जग्गाधनी खडा गरी बेचेको र सो जग्गा आफ्नो रहेको दाबी गर्दै अदालतमा मुद्दा दिएपछि उनी आफैँ फसेका हुन्।
केही दिनअघि पक्राउ परेका आफ्ना सहयोगी जनकपुरधाम उप–महानगरपालिका–२३ का अशोक शर्माको बयानका आधारमा सरकारी छाप दस्तखत किर्ते गरेर गुठीको जग्गा बिक्री गर्ने कार्यमा महन्तको समेत संलग्नता रहेको खुलेको थियो।
प्रहरी हिरासतमा रहेका शर्माले प्रहरीलाई दिएको बयानअनुसार रत्नसागर मठका महन्त बैकुण्ठ दासलाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले वारेन्ट जारी गरेको थियो । वारेन्ट जारी भएको एक सातापछि उनी पक्राउ परेका हुन् ।
उनलाई खोज्न प्रहरी टोलीसमेत परिचालन गरिएको थियो । नक्कली लालपुर्जा धनी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२३ स्थित बसहिया निवासी अशोककुमार शर्माको बयानका आधारमा अदालतले धनुषा प्रहरीलाई महन्त दासलाई पक्राउ गर्न वारेन्ट जारी गरेको थियो।
जग्गा जालसाजी प्रकरणमा धनुषा प्रहरीले खोजी तीब्र बनाएपछि फरार भएका महन्तलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बागबजारस्थित एक होटलबाट नियन्त्रणमा लिएको बताइएको छ।
२ अर्बभन्दा बढी मूल्यको जनकपुरधाम उपमहानगरपालिका–८ स्थित गुठीको अढाइ बिघा जमिनको कीर्ते जालसाजी गरी बैकुण्ठ दास जग्गाधनी र शर्मालाई मोही बनाइएको थियो।
दास २०६७ सालमा शिक्षा कार्यालयका एक कर्मचारीलाई भूमिगत समूह परिचालन गरेर हत्या गर्ने कार्यमा समेत संलग्नताको आरोपमा अदालतबाट धरौटीमा छुटेका थिए।
महन्तलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषा ल्याउने तयारी भइरहेको छ।
याे पनि पढ्नुस् : गुठीको जग्गा कीर्ते गरी बेच्न खोज्ने महन्तमाथि वारेन्ट, नक्कली मोहीले मुद्दा हालेपछि खुल्यो रहस्य
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।