काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले परिषदबाट पारित गराएर मात्रै बजेट कार्यान्वयन गर्न सम्बन्धित स्थानीय तहलाई सचेत गराएका छन्।
बिहिबार काठमाडौंमा आयोजित अन्तर सरकारी वित्त परिषदको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले स्थानीय परिषदबाट पारित नगराई बजेट कार्यान्वयनमा लगिए महालेखा परीक्षकको कार्यालयले अप्ठयारोमा पार्नेतर्फ पनि सबै स्थानीय तहको ध्यानाकर्षण गराए।
२८ वटा स्थानीय तहले परिषदबाट पारित नगराई बजेट कार्यान्वयन गरेको भन्दै अर्थमन्त्री खतिवडाले विधि र प्रक्रिया अनुसार परिषद बैठकबाट पारित गरेर मात्रै बजेट कार्यान्वय गर्न सचेत गराएका हुन्।
अर्थमन्त्री खतिवडाले परिषदबाट पारित नगराई बजेट कार्यान्वयन गर्ने स्थानीय तहलाई संघीय सरकारले अनुदान सहायता उपलब्ध गराउन नसक्ने चेतावनीसमेत दिएका छन्।
‘विकास आयोजनाको कामलाई अघि बढाउने गरी संरचना निर्माणको काममा केन्द्रित हुन पनि प्रदेश र स्थानीय तहलाई आग्रह गर्दछु,’ मन्त्री खतिवठायले भने।
अर्थमन्त्री खतिवडाले विकास निर्माणको कामलाई अघि बढाउन संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य गरेर अघि बढनुको विकल्प नरहेको समेत उनले बताए।
प्रदेश र स्थानीय तहमा सबै संरचनाको विकास भइनसकेकाले सबै खालका वित्तीय सहायता हस्तान्तरण गर्न नसकिएको पनि मन्त्री खतिवडाले बताए।
प्रदेश मुख्यमन्त्री र अर्थ मन्त्रीहरु सहभागी रहेको परिषदको सो बैठकमा संघ र प्रदेश सरकारको हालसम्मको कामको पनि समीक्षा हुने अर्थ सचिव डा. राजन खनालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।