ad

‘वाइड बडी’ विमान खरिदमा थप अध्ययन अघि बढाउने पर्यटनमन्त्रीको प्रतिबद्धता

नेपाल लाइभ

Nepal Live

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले ‘वाइड बडी’ विमान खरिदका सम्बन्धमा मन्त्रालय गम्भीर रहेको भन्दै आवश्यक परे थप अध्ययन अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा मन्त्री अधिकारीले वाइड बडी खरिदका सम्बन्धमा आवश्यक परे थप अध्ययन गर्न मन्त्रालय तयार रहेको बताएका हुन्।

समितिका सदस्यहरुले विवादित विमान खरिद प्रक्रियाबारे तालुकदार मन्त्रालय नै गम्भीर नबनेको, जिम्मेवार मन्त्रीले चित्त बुझ्दो गरी जवाफ दिन नसकेको भन्दै आक्रोश पोखेपछि मन्त्रीले यस्तो प्रतिबद्धता जनाएका हुन्। उनले विषयमा मन्त्रालय चुप लागेर नबसेको पनि स्पष्ट पारे।

छानबिन समितिको प्रतिवेदनले पनि थुप्रै प्रश्न उब्जाएको भन्दै उनले त्यसमाथि पनि अध्ययन जरुरी रहेको बताए।

मन्त्री अधिकारीले नेपाल वायुसेवा निगमभित्र कमजोरी पनि रहेको स्वीकार गर्दै स्पष्ट छानबिन गर्नुपर्छ भन्नेमा मन्त्रालय स्पष्ट रहेको बताए। यसबारे समितिले छानबिन गरी ल्याउने वास्तविकतालाई मन्त्रालयले प्रक्रियामा लैजाने पनि उनले स्पष्ट पारे।

समितिले निगमको वाइड बडी खरिदमा भएको भनिएको आर्थिक अनियमितताका सम्बन्धमा आज मन्त्री अधिकारीसँग छलफल गरेको हो। यसअघि निगमका पदाधिकारी, मन्त्रालयका सचिवलगायतसँग छलफल गरेको थियो। वाइड बडी खरिद प्रक्रिया नियमसम्मत नरहेको भन्ने महालेखा परीक्षकको प्रतिवेदनसँगै यसमा झन्डै ६ अर्बको आर्थिक अनियमितता भएको चर्चा भएपछि संसदीय समितिले यसमा चासो देखाएको हो।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने