रसुवा– रसुवामा ७० प्रतिशत भूकम्पपीडितले निजी आवास निर्माण सम्पन्न गरेका छन्। विनाशकारी भूकम्प गएको ४२ महिना पुग्नै लाग्दा जिल्लामा ७० प्रतिशत भूकम्प पीडितले निजी आवास निर्माण सम्पन्न गरेका हुन्।
कूल १२ हजार ४ सय ९० लाभग्राही रहेको रसुवामा ८ हजार ७ सय ६८ ले निजी आवास निर्माण सम्पन्न गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाई रसुवाका प्रमुख कृष्णकान्त उपाध्यायले बताए।
जिल्लाको पाँच वटा गाउँपालिकामध्ये सबैभन्दा कम गोसाईकुण्ड गाउँपालिकामा र सबैभन्दा बढी नौकुण्ड गाउँपालिकामा घर निर्माण भएको समेत उपाध्यायले जानकारी दिए।
जिल्लाको नौकुण्ड गाउँपालिकामा २ हजार ६ सय ९१, कालिका गाउँपालिकामा २ हजार ६३, उत्तरगया गाउँपालिकामा १ हजार ६ सय ५०, आमाछोदिङमो गाउँपालिकामा १ हजार २ सय २३ र गोसाईंकुण्ड गाउँपालिकामा १ हजार १ सय ४१ गरी जम्मा ८ हजार ६ सय ७८ घर निर्माण सम्पन्न भएको बताइएको छ।
जिल्लामा हालसम्म ११ हजार ५ सय १५ जनाले पहिलो किस्ता बापतको रकम बुझेका छन् भने १० हजार २ सय ७५ जनाले दोस्रो र ८ हजार ७ सय ६८ ले तेस्रो किस्ता बापतको रकम बुझिसकेको रसुवा इकाईले उल्लेख गरेको छ।
सरकारले पुष मसान्तसम्ममा दोस्रो किस्ता र आगामी बैशाख मसान्तभित्र तेस्रो किस्ता लिइसक्नुपर्ने समयसीमा तोकेपछि जिल्लामा पुनर्निर्माणले गति लिएको हो। सडक नपुगेको स्थानमा हेलिकोप्टर तथा खच्चडको प्रयोग गरी निर्माण सामग्री लगेर भएपनि पुननिर्माणलाई तीव्रता दिइएको भूकम्पपीडितले बताए।
अनुदानको ३ अर्ब रकम वितरण
विनाशकारी भूकम्पबाट प्रभावित भएका निजि आवास पुनर्निर्माणका लागि रसुवामा करिब ३ अर्ब रकम वितरण भएको छ। हालसम्म २ अर्ब ९९ करोड ३८ लाख रुपैया रकम वितरण भएको रसुवा इकाईले जानकारी दिएको छ।
निजी आवास पुनर्निर्माणका लागि जिल्ला भित्रिएका ६ वटा सामाजिक संस्थाले ८ सय ४१ निजी घर निर्माणमा सहयोग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।