सुर्खेत। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ र ४ जोड्ने बालुवाचौरस्थित तिल्चाखोला सडक पुल निर्धारित समयभन्दा करिब नौ महिनाअघि नै निर्माण सम्पन्न भएको छ।
पुल निर्माणका लागि २०८२ असार २० गते सम्झौता भएको थियो। सम्झौताअनुसार २०८४ असार २० गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि निर्माण व्यवसायीले २०८३ असोज ८ गते नै काम सकेको पूर्वाधार विकास कार्यालय चौरजहारीका कार्यालय प्रमुख रामचन्द्र बिसीले बताए।
उनका अनुसार पुल निर्माणको कुल लागत ८ करोड ६९ लाख २७ हजार ९ सय २४ रुपैयाँ ९८ पैसा रहेको छ। पुल निर्माणको जिम्मा ज्वालामुखी हिमशिखर हिरा जेभी, काठमाडौं–१०, नयाँबानेश्वरले लिएको थियो।
निर्धारित समयभन्दा अगावै पुल निर्माण सम्पन्न भएकाले स्थानीय वासीलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ। पुल निर्माण भएपछि बाँफिकोट गाउँपालिका–३ र ४ का बासिन्दालाई विशेष गरी वर्षायाममा आवतजावत गर्न सहज हुने भएको छ।
निर्माण सम्पन्न भएको पुलको बुधबार कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मिलन खड्का रोकाले उद्घाटन गरे। उनले समय अगावै काम सम्पन्न गरेकोमा निर्माण व्यवसायीलाई धन्यवाद दिए।
उद्घाटन कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी खड्कालगायतको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।