कठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाहीको माग गरिएको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ। धर्म परिवर्तनको उद्योग कसुर अन्तर्गत कारबाहीको माग गर्दै अधिवक्ता भुपेन्द्रप्रसाद पोखरेलले दिएको जाहेरी लिन प्रहरीले अस्वीकार गरेको हो।
शनिबार सकिएको एसिया प्यासिफिक समिटमा नेपाली जनतालाई क्रिष्चियन धर्मप्रति आकर्षित एवं बाध्य पार्ने किसिमको गतिविधि प्रधानमन्त्री ओलीले गरेको भन्दै उनले जाहेरी दिएका थिए।
अधिवक्ता पोखरेल संविधानले कुनै पनि धर्म परिवर्तन गराउन नपाउने व्यवस्थाविपरीत प्रधानमन्त्रीले कार्य गरेको दावीसहित जाहेरी दर्खास्त दिन काठमाडौं प्रहरी परिसर, टेकु पुगेका थिए। तर, यस्तो जाहेरी लिई अनुसन्धान नहुने भन्दै फर्काएको उनले बताए।
अपराध (संहिता) ऐन २०७४ को दफा १५८ को १, २ विपरीत धर्म परिवर्तन गराउन नहुने कार्यमा सरिक भएर मतियार भई विवादित संस्था युपिएफको अवार्ड वा उपहार, तक्मा दिने कार्य संविधानको धारा २७७ विपरीत भएको दावी जाहेरीमा गरेका छन्। ओलीसहित आयोजक युनिभर्सल पिस फेडेरेसन (युपिएएफ) का अध्यक्ष एकनाथ ढकालविरुद्ध पनि उनले जोहरी दिएका थिए।
‘लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै पुरस्कार र तक्मा दिने, अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति कायमका लागि कार्यक्रम गर्ने गराउने भन्दै आयोजक बनेर प्रधानमन्त्रीको उपस्थितिमा ५ दिनसम्म होटल हायालमा क्रिष्चियन सम्मेलन भाग लिएका छन्’ उनले भने, ‘जनतालाई क्रिष्चियन धर्मप्रति आकर्षित एवं आस्था राख्न बाध्य पार्ने तरिकाले नेपालका उच्च पदाधिकारी, उच्च ओहोदाका कर्मचारी राष्ट्रसेवक एवं मेयर, उपमेयरलाई सम्मेलनमा बोलाएर सच्चा माता भनिने मुनबाट आर्शिवाद समेत लिने काम भएको छ।’


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।